राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन शाहबिच नयाँ समीकरण बनिरहँदा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक राजनीतिक शक्तिहरूबिचको ध्रुवीकरणमा जोड दिएका छन् ।
पोखरामा आइतबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले मुलुकको आवश्यकता र जनचाहना पूरा गर्न सबै वैकल्पिक शक्तिहरू एकै ठाउँमा उभिनुपर्ने बताए ।
वर्तमान सरकारका मन्त्रीसमेत रहेका घिसिङले पार्टी एकीकरण सम्भव नभए पनि ‘कार्यगत एकता’ गरेर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे । ‘सही नेतृत्व र वैकल्पिक विचार बोकेका शक्तिहरू अब छरिएर होइन, एकताबद्ध भएर जानुपर्छ,’ घिसिङले भने, ‘सकेसम्म पार्टी एकीकरण गरौँ, त्यो नसके कम्तीमा कार्यगत एकता गरेर भए पनि अगाडि बढौँ । म सबै नयाँ र मूलधारका परिवर्तनकारी शक्तिलाई एक ठाउँमा आउन आह्वान गर्दछु ।’