त्रिवि टपर भन्छन्– हाम्रो शैक्षिक उपाधि देशमै प्रयोग गर्छौंँ, सरकारले सहयोग गरोस्

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण
त्रिवि टपर भन्छन्– हाम्रो शैक्षिक उपाधि देशमै प्रयोग गर्छौंँ, सरकारले सहयोग गरोस्

बिहीबार दशरथ रंगशालामा आयोजित त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्दै प्रधानमन्त्री । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

त्रिभुवन विश्वविद्यालयका विभाग, संकाय र विषयमा सर्वोत्कृष्ट हुने २० जनालाई बुधबार आयोजित ५१औँ दीक्षान्त समारोहमा २४ वटा पदक प्रदान गरिएको छ । प्रधानमन्त्री एवं त्रिवि कुलपति सुशीला कार्की, भौतिकशास्त्रमा नोबेल पुरस्कार विजेता जापानको टोकियो विश्वविद्यालयका ताकाआकी काजितालगायतले उनीहरूलाई सम्मान गरे ।

दीक्षान्त समारोहमा सहभागी भएका १६ हजार ३८० विद्यार्थीमध्ये टपर, एमफिल र पिएचडी तह उत्तीर्ण गरेकालाई प्रधानमन्त्री कार्कीले प्रमाणपत्र प्रदान गरिन् । स्नातक तहदेखि पिएचडीसम्म ८९ हजार १९९ विद्यार्थी उत्तीर्ण भए पनि दीक्षान्त समारोहमा सीमित विद्यार्थी उपस्थित भएका थिए ।

पढाइमा अब्बल अंक प्राप्त गरेर स्नातक तह, स्नातकोत्तर तह र एमफिल तह ‘टप’ गरेका विद्यार्थीले आफ्नो शैक्षिक उपाधि स्वदेशमै प्रयोग गर्ने बताए । अर्थशास्त्र विषयमा सर्वोत्कृष्ट भएर तीनवटा पदक पाएका कमल पौडेलले नेपालमा अवसर भए पनि त्यसको सदुपयोग हुन नसकेको, राम्रो पढाइ र कामका लागि विदेशै जानुपर्छ भनेर गलत भाष्य निर्माण गरिएको बताए । ‘पदककै दाबेदार हुनलाई त पढेको थिइनँ, तर मैले जे पढेँ त्यो लगावले पढेँ, त्रिविको पाठ्यक्रमलाई गहन रूपमा बुझेर अध्ययन गरेँ,’ उनले भने, ‘यहाँ अवसरहरू नभएका होइनन्, हामीलाई जसले बाटो देखाउनुपर्दथ्यो उनीहरूले अवसर नदिएका पनि हुन सक्छन्, पढाइको सम्बन्ध विदेशसँग छ भन्ने भाष्य निर्माण गर्नुहुन्न भन्ने लाग्छ ।’ 

नेपाल ल क्याम्पसबाट स्नातक तहमा कानुन विषयकी टपर भावना अधिकारीले यो पदकले आफूलाई पेसा, शिक्षा र देशप्रति थप जिम्मेवार थपेको बताइन् । ‘हालै मात्र म कानुन अधिकृतका रूपमा पशुसेवा विभागमा नाम निकालेर काम गरिरहेकी छु । पढाइलाई बोझका रूपमा नलिएर लक्ष्य बोकेर अघि बढ्यो भने नतिजा राम्रो आउने रहेछ भन्ने अनुभव भयो,’ उनले भनिन्, ‘विदेश जान्छु भनेर कहिल्यै सोचिनँ र भोलिका दिनमा यस्तो कुरा सोच्न पनि सक्दिनँ ।’

स्नातकोत्तर तहमा व्यवस्थापन विषय टपर रक्षा भेटुवालले आफूले नेपालमै केही गर्नुपर्छ भन्ने आशा राखेर पढेकाले नतिजा राम्रो आएको बताइन् । ‘नेपालमा अवसरचाहिँ छ, तर यहाँ अहिले सबैजना नेपालमा केही पनि छैन । विदेशमै छ भन्ने भावनाको विकास गरिएको छ । तर, प्रयास गर्ने हो भने नेपालमा अवसर छन् । प्र्रयास नै नगरी विदेश–विदेश मात्रै भनेर पनि हुँदैन,’ उनले भनिन् ।

पौडेलले तारापद चौधरी स्वर्ण पदक, खगेन्द्रमान सिंह प्रधान र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पाए । दुई पदक पाउनेमा राजनीतिक शास्त्र केन्द्रीय विभागकी प्रतिभा पौडेल छिन् । उनलाई ललित चन्द पुरस्कार र वडाकाजी मरिचमान सिंह पुरस्कार प्रदान गरियो । दुईवटा पदक पाउनेमै फुर्वा शेर्पा छन् । उनलाई भ्वाइथ सत्य माँ स्मृित स्वर्ण पदक र भाइस चान्सलर पदक प्रदान गरियो । त्रिवि टपर हुने अन्य विद्यार्थीमा सुनील पुडासैनी, समिता महर्जन, रवीन्द्र पण्डित, सुजन लामिछाने, रस्मिता कार्की, आर्यान भट्टराई, उबेन्द्रकुमार तामाङ, गौरव भुसाल, अन्वेश पोखरेल, अग्रनी पौडेल र सुभाषी कार्की छन् ।

प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जन गर्नुपर्नेछ : कार्की 
प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने बताइन् । दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले त्रिविको प्रशासनमा समेत अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेकाले त्यसलाई सच्याउन ठोस पहल थालेका बताइन् । ‘क्षेत्रमा सुन्ने गरिएको दलीय राजनीतीकरणको अवस्थालाई अन्त्य गरी विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षले प्रयास गर्नुपर्ने आवश्यकता छ, शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै हामीले केही ठोस पहल थालेका छौँ,’ उनले भनिन्, ‘प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको छ । यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ ।’

क्षमतालाई विश्वास गरेर अघि बढ्नुपर्छ : ताकाआकी काजिता, नोबेल पुरस्कार विजेता
त्रिवि दीक्षान्त समारोहमा आएका जापानको टोकियो विश्वविद्यालका प्राडा ताकाआकी काजिताले अहिलेको दुनियाँ थुपै्रै समस्या निम्तिएकाले त्यसको समाधान विद्यार्थी वर्गमा समेत रहेको बताए । ‘कृत्रिम बुद्धिमत्ताले हाम्रा समाजलाई कहिल्यै नभएको गतिमा रूपान्तरण गरिरहेको छ, जलवायु परिवर्तन, असमानता र भू–राजनीतिक तनावजस्ता वैश्विक चुनौतीहरू मानवता परीक्षण गर्दै छन् र कार्य र ज्ञानको स्वरूप परिवर्तन हुँदै छ, यसको मतलब तपाईंको यात्रा यो दिनपछि सधैँ सहज हुँदैन,’ उनले भने, ‘मैले एक भौतिकशास्त्रीका रूपमा मेरो जीवनको धेरै हिस्सा ब्रह्माण्डका रहस्यमाथि अध्ययन गर्दै बिताएको छु, अहिलेको समयमा देखिएको अनिश्चितताको सामना गर्दै, तपाईंको अनुकूलन, सिक्न र बढ्नको क्षमतालाई विश्वास गरेर अघि बढ्नुहोला ।’

सुझावित समाचार