पर्साको पोखरीया नगरपालिकामा करारका कर्मचारीहरुलाई विभिन्न शाखाका प्रमुख र सहायक प्रमुखको जिम्मेवारी दिएको पाइएको छ।
नगरपालिका कार्यालयको जिन्सी शाखामा स्थायी कर्मचारी नायब सुब्बा मनोज साह हुँदा हुँदै करारका भगवान साह कानु सहायक प्रमुख भएर काम गर्दै आएका छन्। सो शाखाको प्रमुखमा आन्तरिक लेखा परीक्षक रामवीर चौरसीया छन्।
केही वर्षदेखि करार सेवामा कार्यरत ललन पटेल पनि शिक्षा शाखा प्रमुख भएर काम गरिरहेका कर्मचारीहरु बताउँछन्। श्रेणीविहीन करारका कर्मचारीहरु शाखाको प्रमुख हुँदा जनप्रतिनिधिको अनुकुलनका काम भइरहेका भन्दै स्थायी कर्मचारीहरु असन्तुष्ट छन्।
जिन्सी शाखा सहायक प्रमुख कानु र शिक्षा शाखा प्रमुख पटेललाई ६ महिनाअघि मात्र जिम्मेवारी दिइएको सुचना अधिकारी अरबिन्द कुमार दुबेले जानकारी दिए।शिक्षा शाखामा अन्य स्थायी कर्मचारी नहुँदा पटेललाई नै जिम्मेवारी दिइएको उनको भनाइ छ।
नगरपालिकाकी उपप्रमुख रुबि ठाकुरका अनुसार नगरप्रमुख प्रदुमन प्रसाद चौहानको आदेशअनुसार करारका कर्मचारीलाई शाखा सहायक र प्रमुख बनाइएको हो। नगरप्रमुखले आफ्नो मनोमानी गरिरहेको उनको आरोप छ।