बारासहित मध्यतराईका जिल्लाहरूमा शीतलहरका कारण जनजीवन प्रभावित बनेपछि दुवै जिल्लाका अधिकांश पालिकाहरूले विद्यालय बन्द गरेका छन् । बारा जिल्लाको निजगढ, जितपुरसिमरा, बरियारपुर नगरपालिका र करैयामाई गाउँपालिकाले सूचना निकालेर विद्यालय बन्द गरेका हुन् ।
जिल्लाको परवानीपुर र विश्रामपुर गाउँपालिकाले भने सोमबारदेखि विद्यालय बन्द गरिसकेका छन् । खराब मौसमका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने हुँदा बिदा दिइएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचनामा मंसिर १३ गते आइतबारदेखि विद्यालय खुल्ने जनाइएको छ । पालिकाहरूले स्थानीय बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा मिलाएका हुन् । बाक्लो हुस्सुसँगैको शीतलहरले सर्वसाधारणको दैनिकी प्रभावित भएको छ। बारालगायत मध्यतराईका जिल्लाहरूमा पुस १ गतेदेखि नै शीतलहर सुरु भएको हो । दिउँसोसमेत कुहिरो नहटेपछि बालबालिका, ज्येष्ठ नागरिक र दैनिक ज्याला–मजदुरी गर्नेहरू बढी प्रभावित भएका छन् ।