३५ वर्षदेखि भुटानी जेलमा रहेका राजबन्दीको रहस्यमय मृत्यु

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

भुटानका विभिन्न जेलमा तीन दशकभन्दा बढी समयदेखि राखिएका राजनीतिक बन्दीमध्येका एक शाबहादुर गुरुङको २९ मंसिरमा रहस्यमय मृत्यु भएको छ । भुटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि गठित ‘ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान’ले थिम्पुस्थित चामगाङ केन्द्रीय कारागारको आफ्नै कोठामा गुरुङ मृत भेटिनु रहस्यमय भएको भन्दै छानबिनको माग गरेको छ । 

‘जेलमा यस प्रकारको मृत्यु हुनु राज्यको गैरजिम्मेवारीपन र लापरबाही हो । सरकारमाथि गम्भीर प्रश्न उब्जेको छ,’ अभियानका संयोजक राम कार्कीले नेदरल्यान्ड्सबाट टेलिफोनमा भने । भुटानको चिराङ क्षेत्रका स्थायी बासिन्दा शाबहादुर सन् १९९० मा रोयल भुटानी सेनामा कार्यरत रहेकै वेला पक्राउ परेका थिए । ‘भुटानमा प्रजातन्त्रका लागि भएको शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको अभियोगमा उनलाई पक्राउ गरी आजीवन कारावासको सजाय सुनाइएको थियो । तीन दशकभन्दा बढी समयसम्म उनी मुख्यत: वाङ्दी फोड्राङ जिल्लास्थित राबुना कारागारमा थुनिएका थिए, जुन कारागार कठोर, अमानवीय र कुख्यात मानिन्छ,’ अभियानले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ । गुरुङका आफन्त अमेरिका र अन्य देशमा बसोबास गरिरहेका छन् । 

कार्कीका अनुसार कारावास अवधिभर गुरुङले गम्भीर शारीरिक र मानसिक यातना सहनुपरेको थियो । सुरक्षाकर्मीले उनीमाथि पटक–पटक कुटपिट गरेको, एकान्त कारावासमा राखेको तथा अन्य अमानवीय व्यवहार गरिएको थियो । आफन्तहरूले कार्कीलाई बताएअनुसार केही दिनअघि सुरक्षाकर्मीले गुरुङलाई मृत्युदण्ड दिने आदेश जारी भएको र उनलाई यातना दिएर मृत्युको मुखमा धकेल्ने चेतावनी दिएका थिए । यद्यपि, उनीमाथि मृत्युदण्डको पुष्टि भने भएको छैन । ‘त्यसबाहेक दशकौँ लामो दुव्र्यवहार र समयमै उपचार नपाउँदा उनको स्वास्थ्य अत्यन्तै कमजोर बनेको र अन्तत: त्यसैको परिणामस्वरूप उनको मृत्यु भयो भन्ने परिवारजनको विश्वास छ,’ कार्कीले भने ।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि दुई साताअघि उनलाई अमानवीय मानिने राबुना कारागारबाट चेमगाङ केन्द्रीय कारागारमा सारिएको थियो । उनी १० डिसेम्बरदेखि त्यहाँ थिए । उनलाई जेल स्थानान्तरणका क्रममा पनि आवश्यक चिकित्सकीय उपचार गर्न नदिइएको परिवारजनको आरोप छ ।

आफन्त तथा अन्य विवरणअनुसार २८ मंसिर साँझ गुरुङ खाना खाएर सुत्न गएका थिए र उनको कुनै अस्वाभाविक लक्षण देखिएको थिएन । ‘तर, १५ डिसेम्बर २०२५ (२९ मंसिर) बिहान उनी कोठाभित्र बेहोस अवस्थामा फेला परे । ड्युटीमा रहेका प्रहरीले उनलाई नजिकैको स्वास्थ्यचौकी हुँदै थिम्पुस्थित अस्पतालमा रिफर गरिएको थियो । 

भुटानले राष्ट्रिय दिवस मनाउने मिति २ पुस (१७ डिसेम्बर २०२५) अघि जेलमा उनको मृत्यु भएको छ । राष्ट्रिय दिवसका दिन राजकीय आममाफीमार्फत राजनीतिक बन्दीहरू रिहा हुने आशा परिवारजन, समर्थक तथा विश्वभरका मानव अधिकारकर्मीले गरे पनि जेलमा राजबन्दीको मृत्यु भयो भने अन्य राजबन्दीको पनि अवस्था गम्भीर रहेको परिवारजनले अभियानलाई जानकारी दिएका छन् । 

See More On

सुझावित समाचार