ईश्वर पक्षले एजेन्डा नछाड्ने, देश दौडाहमा जाने

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पराजित ईश्वर पोखरेल समूहले आफ्ना एजेन्डा पार्टीको आन्तरिक बैठक र बाहिर दुवैतिर निरन्तर उठाउने भएको छ । शनिबार कार्की बैंक्वेटमा आयोजित पोखरेल समूहका नेता–कार्यकर्ता तथा प्रतिनिधिहरूको महाधिवेशन समीक्षा भेलाले त्यस्तो निष्कर्ष निकालेको हो । 

पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजका आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रीकरणलगायतका मुद्दालाई विधिसम्मत ढंगले पार्टीका फोरममा निरन्तर उठाउने निष्कर्ष निकालिएको नेताहरूको भनाइ छ । भेलामा पोखरेलसहित महासचिवमा पराजित सुरेन्द्र पाण्डे, पूर्वउपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराई, उपमहासचिवका उम्मेदवार आनन्दप्रसाद पोखरेल, सचिवका उम्मेदवार गोकुल बाँस्कोटासहित ६१ जिल्लाको प्रतिनिधित्व गर्ने नेता–कार्यकर्ता सहभागी थिए । 

नेता पोखरेलले अध्यक्ष केपी ओलीले अहिलेसम्मका कमजोरी स्विकार्दै सुधारेर पार्टीलाई रूपान्तरणको बाटोमा लैजानुपर्ने बताए । उनले जितको बलमा आत्मसमर्पण गराउन खोजिए स्वीकार्य नहुने चेतावनी पनि दिए । ‘हामी विभाजन अस्वीकार गर्छौँ, तर आत्मसमर्पण पनि मञ्जुर छैन,’ उनले भने, ‘म जे बोल्छु त्यही हो एमाले, सुन्दा पनि आङ सिरिंग हुन्छ । म भएन भने एमाले हुन्न यो के भनेको हो ? ’

महासचिवका उम्मेदवार पाण्डेले महाधिवेशनमा उठाइएका एजेन्डा लिएर कार्यकर्तामाझ पुग्ने र उनीहरूको सल्लाह, सुझाब सुनेर निरन्तर पार्टीलाई शुद्धीकरण र रूपान्तरणको बाटोमा अगाडि बढ्ने बताए । उनले देशैभर जनताको बहुदलीय जनवादको उपदेयताबारे विमर्शको कार्यक्रम लगिनेसमेत प्रस्ट्याए । पार्टीभित्र टिमबाट नेताहरूले आन्तरिक फोरममा पार्टीलाई रूपान्तरणमा लैजान आवाज उठाउने र आफूहरू भने कार्यकर्ताहरूको बिचमा पुगेर एमालेलाई अझ सशक्त, बलियो र एकताबद्ध बनाउन जुट्ने पाण्डेको भनाइ थियो । 

नेताहरूले ओलीलाई पार्टी अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका थिए । भेलामा लोकतान्त्रिक प्रतिस्पर्धा भनिए पनि संगठित सदस्यता वितरण, प्रतिनिधि छनोट प्रक्रियादेखि नै धाँधली सुरु गरिएको, मोर्चा फाँट, विशेष प्रदेश र क्षेत्र, मनोनीत प्रतिनिधिमा एकलौटी गरिएकाले पनि उल्लेख्य नतिजा आउन नसकेको समीक्षा गरेका थिए । पार्टीलाई निरंकुश ढंगले कब्जा गर्ने, फरक मत सुन्दै नसुन्ने, पूर्वाग्रह राखेर कुनै जिम्मेवारी नदिने, काखापाखा गर्ने व्यापक विकृति देखिएकाले त्यसका विरुद्ध निरन्तर संघर्ष गर्नुपर्ने नेताहरूले निष्कर्ष निकालेका छन् । 

सुझावित समाचार