नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन्। प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको उनको भनाइ छ।
‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,’ कोइरालाले भने, ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ। तर, सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंकासमेत जन्मिएको छ।’
सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाइ थियो। ‘दलका केही नेतालाई काठमाडौंबाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन्। यसबारेमा सरकारले के सोचेको छ ?’ कोइरालाले प्रश्न गरे।
आफ्नो निर्वाचन क्षेत्र मोरङ– ६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिका– ४ का स्थानीय नेता–कार्यकर्तासँगको भेटघाटमा कोइरालाले निर्वाचनका लागि जुट्न पनि पार्टीपंक्तिलाई निर्देशन दिए।