सदभावको प्रतीक बनेर कतार उडे ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’

जोडी हात्ती कतार सरकारलाई उपहार, नेपालले पहिलोपटक दियो हात्ती उपहार

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

नेपाली जनताको सद्भावको प्रतीकको रूपमा एक जोडी हात्ती कतार उडेका छन् । नेपालले उपहार दिएका जोडी हात्ती ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ बुधबार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विशेष कार्गो विमानमार्फत कतारको राजधानी दोहा उडेका हुन् । 

नेपालले गैँडासहितका अन्य वन्यजन्तु र चराचुरुंगी उपहार दिँदै आए पनि हात्ती पहिलोपटक दिएको हो । चितवन राष्ट्रिय निकुञ्जको खोरसारस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मी हुर्केका यी हात्तीलाई अलखोर चिडियाखाना पठाइएको हो । 

हात्तीसँगै एकजना पशु प्राविधिक र दुईजना माहुते पनि दोहा गएका छन् । उनीहरूले एक महिनासम्म हात्तीको खानपान तथा स्याहारसुसारको विषयमा अलखोर चिडियाखानामा रही काम गर्नेछन् । 

अधिकारीहरूले वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय कानुन एवं नेपालको प्रचलित कानुनबमोजिमको साइटिस प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी प्रमाणपत्र जारी गर्नेलगायतका आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर हात्ती दोहा पठाइएको बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार पठाउनुपूर्व हात्ती बस्ने स्थललगायतमा ध्यान दिइएको छ । 

‘नेपाली जनताको सद्भावको प्रतीकको रूपमा एक जोडी हात्ती कतार सरकारलाई उपहार प्रदान गरिएको छ । यी हात्ती अलखोर पार्कको चिडियाखानामा रहनेछन्,’ विभागले विज्ञप्तिमार्फत भनेको छ, ‘नेपालको तर्फबाट एक प्राविधिक टोलीले अलखोर पार्कमा हात्ती राख्ने स्थल र अन्य व्यवस्थापकीय पक्षको अध्ययन गरी प्राप्त प्रतिवेदन एवं नेपाल पक्षराष्ट्र रहेका सम्बन्धित अन्तर्राष्ट्रिय अभिसन्धि र राष्ट्रिय कानुनहरूको परिधिभित्र रही हात्ती हस्तान्तरण गरिएको छ ।’

हात्तीको बिदाइ गर्न सचिव डा. राजेन्द्रप्रसाद मिश्र, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेल तथा परराष्ट्र मन्त्रालय, नेपाली सेना, नेपालस्थित कतारको राजदूतावासका प्रतिनिधि, रूपन्देहीका प्रमुख जिल्ला अधिकारीसहितको टोली विमानस्थल पुगेको थियो ।

हात्ती हस्तान्तरण गर्दै सचिव मिश्रले छोरी अन्माएजस्तै भावविह्वल भएको बताए । ‘छोरीसँग सहयोगी पठाउने चलन छ, हामीले दुई माहुते पनि साथमा पठाएका छौँ । दुवै हात्तीको नयाँ घरको बास सुखद बनोस् र सन्तान वृद्धि होस् ।’ निकुञ्ज विभागका महानिर्देशक पौडेलले ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’को अबको नयाँ घर कतार हुने बताए । हात्ती उपहार दिनुले नेपाल र कतारबिच हात्तीजस्तै बलियो सम्बन्ध रहेको उनको भनाइ छ ।

०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले दुई हात्ती उपहारस्वरूप दिने घोषणा गरिएको थियो । ०८१ मा कतारका अमिर हिज हाइनेस शेख तामिम विन हमाद बिन खलिफा अलथानीले नेपालको राजकीय भ्रमण गरेका थिए । सो अवसरमा पनि राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको तर्फबाट कतारका हिज हाइनेस अमिर र कतारी जनतालाई उपहारस्वरूप एक जोडी हात्ती प्रदान गरेको घोषणा गरेका थिए ।

सोही घोषणा कार्यान्वयनका क्रममा मन्त्रिपरिषद्को २ कात्तिक ०८१ को निर्णयअनुसार एक जोडी हात्ती कतार सरकारलाई उपहार प्रदान गरिएको छ । दोहामा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नेपाली जनताको सद्भावको प्रतीकको रूपमा रहनेछन् । 

See More On

सुझावित समाचार