नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदान कार्य जारी छ। ११औँ महाधिवेशनको पाँचौँ दिन बुधबार बिहान सवा ९ बजेदेखि भोटिङ सुरु भएको थियो।
मतदान गर्न औषत आधा घण्टादेखि ४० मिनेटसम्म लागेको मतदाताले सुनाएका छन्। एमालेको निवर्तमान पोलिटब्यूरो सदस्य कमल चौलागाईँ बिहान पौने ८ बजे लाइनमा बसेका थिए। दिउँसो सवा २ बजे मात्रै आफूले मतदान गरेको उनले बताए।
‘मतदान गर्न आधा घण्टादेखि ४० मिनेटसम्म लाग्दो रहेछ। झण्डै सात सय जनाबाट ३५१ जनालाई छनोट गर्नुपर्यो। नाम लामो हुँदा झुक्किन सक्ने भएकाले पनि धैर्यसहित मत हाल्नै पर्यो,’ चौलागाईँले आफ्नो अनुभव नयाँ पत्रिकालाई सुनाए।
निर्वाचनमा करिब सात सय उम्मेदवार छन्। दुई हजार २६२ मतदाताले यीमध्येबाट ३०१ केन्द्रीय सदस्यसहित दुई आयोगका २५–२५ गरेर ३५१ जनालाई चुन्ने छन्।
अहिले साँझबाट कुपन प्रणाली लागू गरेपछि भने मतदान कार्य सहज बनेको केन्द्रीय सदस्यको उम्मेदवार सीता कुमारी खत्रीले बताइन्। कुपन वितरणले मतदातालाई लाइनमा बसिरहनुपर्ने झन्झटबाट मुक्त गरेको उनको भनाइ छ।