दक्षिणी भारतको कोडिन्हीनजिकै एउटा अनौठो गाउँ छ । उक्त गाउँलाई मानिसहरूले ‘जुम्ल्याहा गाउँ’ भन्छन् । त्यहाँ अन्यभन्दा बढी अनुपातमा जुम्ल्याहा शिशु जन्मिने भएकाले त्यस ठाउँको नाम नै जुम्ल्याहा गाउँ रहन गएको स्थानीयको भनाइ छ । अन्य गाउँको तुलनामा त्यहाँ जुम्ल्याहा शिशु जन्मिने दर उच्च भएकाले मानिसहरू स्वाभाविक रूपमा अचम्मित छन् ।
गाउँका आमाहरूले देशका अन्य ठाउँका महिलाले भन्दा धेरैपटक किन जुम्ल्याहा बच्चा जन्माउँछन् भन्ने कुरा अनुसन्धानकै विषय छ । तर, आगामी वर्षमा कोडिन्हीको उक्त ठाउँ अब लामो समय अनौठो गाउँ नदेखिन सक्छ । किनकि हालैका केही अनुसन्धानले भारत र समग्र दक्षिण एसियाभर नै जुम्ल्याहा बच्चा जन्माउने दर क्रमिक रूपमा बढ्दै जाने तर्क गरेका छन् । यसले आमा र बच्चा दुवैका लागि गर्भावस्था र प्रसवलाई अझ खतरनाक बनाउने जोखिम राख्छ ।
आश्चर्यजनक रूपमा किन केही महिलामा अरूको तुलनामा जुम्ल्याहा बच्चा जन्माउने सम्भावना बढी हुन्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानको विषय हुन सक्छ । यस विषयमा केही अध्ययन पनि भएका छन् । सन् १९७० र २०१० को दशकको बिचमा प्रजनन उपचारको वृद्धिका कारण जुम्ल्याहा बच्चा जन्माउने विश्वव्यापी दरमा तीव्र वृद्धि भयो (केही प्रविधिले धेरै बच्चा जन्माउने सम्भावना बढी बनाउँछन् । तर, बिस्तारै यी पक्ष खस्कँदै छन्) । तैपनि आनुवंशिकी पनि महŒवपूर्ण छ, जुन जुम्ल्याहा परिवारमा निरन्तर देखिन्छन् । अर्कोतर्फ, उमेरले पनि उत्तिकै भूमिका खेल्ने बताइन्छ । एक हिसाबले ३५ वर्षको उमेरमा १८ वर्षको उमेरको तुलनामा जुम्ल्याहा बच्चा जन्माउने सम्भावना चार गुणा बढी हुन्छ (प्रजनन उपचारविना पनि) ।
सन् २०१० मा प्रत्येक एक हजार जन्ममा अनुमानित सातजना जुम्ल्याहा शिशु जन्मिने गरेकोमा सन् २०५० सम्ममा यो संख्या बढेर ११ पुग्ने अध्ययनमा उल्लेख छ । बंगलादेश, माल्दिभ्स र नेपालले पनि जुम्ल्याहा सन्तानको जन्ममा उल्लेखनीय वृद्धि देख्न सक्छन् ।
धेरै एसियाली देशमा जुम्ल्याहा बच्चा जन्माउने दर अन्य देशको तुलनामा तुलनात्मक रूपमा कम छ । तर, पछिल्ला वर्षमा यस क्षेत्रका महिलामा बच्चा जन्माउने दर निरन्तर बढ्दै गइरहेको छ । र यसले जुम्ल्याहा बच्चा जन्माउने दरलाई उच्च बनाउने सम्भावना देखिन्छ । गैरनाफामुखी संस्था म्याक्स प्लांक इन्स्टिच्युटकी सुसी ली र स्टकहोम विश्वविद्यालयकी किरोन बाक्र्लेले गरेको अध्ययनअनुसार सन् २०५० सम्ममा भारतमा जुम्ल्याहा बच्चा जन्माउने दर ५० प्रतिशतभन्दा बढीले बढ्न सक्छ । अध्ययनका लागि उनीहरूले विभिन्न मोडेल प्रयोग गरेका थिए । सन् २०१० मा प्रत्येक एक हजार जन्ममा अनुमानित सातजना जुम्ल्याहा शिशु जन्मिने गरेकोमा सन् २०५० सम्ममा यो संख्या बढेर प्रतिएक हजारमा ११ पुग्ने अध्ययनमा अनुमान गरिएको छ । बंगलादेश, माल्दिभ्स र नेपालले पनि जुम्ल्याहा सन्तानको जन्ममा उल्लेखनीय वृद्धि देख्न सक्छन् । यदि यस अवधिमा प्रजनन उपचारको सहज उपलब्ध भएमा जुम्ल्याहा बच्चा जन्माउने दर निकै बढ्न सक्छ ।
जुम्ल्याहा सन्तानको जन्ममा हुने वृद्धि दरले बारम्बार जोखिम निम्त्याउँछ । यस्तो जोखिम धनी र गरिब दुवै देशका आमाहरूले भोग्न बाध्य हुनेछन् । धनी देशमा पनि जुम्ल्याहा बच्चा अन्य बच्चाको तुलनामा मृत जन्मने वा जन्मेको केही समयपछि मृत्यु हुने सम्भावना धेरै हुन्छ । त्यस्तै, दुई बच्चा एकैसाथ जन्माउँदा गर्भावस्थामा जटिलता हुने र बच्चाहरू समय नपुगी जन्मिने वा जन्मिँदा नै सानो तौल हुने त्यत्तिकै जोखिम बढ्छ । जुम्ल्याहा बच्चामा मृत्युदर पनि उच्च हुने गरेको केही अध्ययनले देखाएका छन् । भारतमा जुम्ल्याहा बच्चा जीवनको पहिलो महिनामा एकल बच्चाहरूको तुलनामा दशगुणा बढी मृत्युको सम्भावना रहेको एउटा अध्ययनले पत्ता लगाएको छ । अतिरिक्त जोखिमको सामना गर्नाले सार्वजनिक स्वास्थ्य प्रणालीमा तनाव निम्त्याउन सक्छ । खर्चका हिसाबले पनि जुम्ल्याहा सन्तानको व्यवस्थापन गर्न आर्थिक दृष्टिले चुनौतीपूर्ण देखिन्छ । जुम्ल्याहा बच्चा भएको गर्भावस्था व्यवस्थापन गर्न एकल बच्चाको तुलनामा पाँचगुणा बढी खर्च लाग्न सक्छ ।
दक्षिण एसियाले बाल मृत्युदर घटाउने क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । सन् १९९० देखि २०२२ सम्म पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ७२ प्रतिशतले घट्यो । तर, यहाँको विशाल जनसंख्याको कारणले गर्दा यो क्षेत्रमा अझै पनि विश्वको नवजात शिशु मृत्युको एकतिहाइ भाग रहेको भारतमा जुम्ल्याहा बच्चामा हुने मृत्युदरको अध्ययन गरेका हार्वर्ड विश्वविद्यालयका एसभी सुब्रमण्यम भन्छन् । थप नवजात शिशुलाई सघन हेरचाह एकाइ र शल्यक्रियामा बढ्दो पहुँचले जुम्ल्याहा गर्भावस्थाको उच्च दरले निम्त्याउन सक्ने जोखिमको केही अंश कम गर्न सहयोग गर्छ । ती कुरा महँगा छन् । तर, यस्तो लगानीविना शान्त जनसांख्यिकीय परिवर्तनले प्रगतिलाई पछाडि धकेल्न सक्छ ।
द इकोनोमिस्टबाट