११औँ महाधिवेशनमा अध्यक्षका दाबेदार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी ओलीले आफूबाहेक अरू कसैको नाम अध्यक्षमा प्रस्ताव गरे सहमति हुन सक्ने बताएका छन् । महाधिवेशनका सन्दर्भमा आफ्नो समूहले गरेको तयारीबारे बुधबार सम्पादकहरूलाई जानकारी गराउँदै पोखरेलले ओलीका नाममा भने सर्वसम्मत हुनै नसक्ने स्पष्ट पारे । शनिबारदेखि एमाले महाधिवेशन सुरु हुँदै छ ।
‘अहिलेको सन्दर्भमा पार्टी अध्यक्ष केपी ओलीले म अभिभावकीय भूमिकामा बस्छु र महाधिवेशन हलमा अबको नेतृत्व फलानो हो भनेर औपचारिक ढंगले भन्नुभयो मात्र सहमति हुन्छ । नत्र अरू हिसाबमा सहमति हुन्छ जस्तो लाग्दैन,’ पोखरेलले भने । उनले नेतृत्व हस्तान्तरणका लागि ओलीले नेतृत्वको दाबीबाट पछि हट्नुपर्ने पनि बताए ।
अन्तरसंवादमा सम्पादकहरूले नेतृत्वमा सर्वसम्मतिको सम्भावना, सम्भावित परिणाम, एमालेभित्रको आन्तरिक लोकतन्त्रको अवस्था, एमालेको अबको एजेन्डा, जेन–जी आन्दोलनलाई हेर्ने दृष्टिकोणलगायत विविध विषयमा जिज्ञासा राखेका थिए । दुई घण्टा लामो अन्तक्र्रियामा पोखरेलले सबै प्रश्नको पालैपालो जवाफ दिएका थिए ।
पोखरेलले ओलीसँगको प्रतिस्पर्धाबाट आउने परिणाम जस्तो रहे पनि स्विकार्ने प्रस्ट्याए । स्वस्थ प्रतिस्पर्धाबाट आउने परिणाम प्रतिकूल भए पनि ओलीले स्वीकार गर्नुपर्ने उनको भनाइ थियो । चुनावमा पराजित भए पोखरेलसहित उनलाई साथ दिने नेता भीम रावल र माधव नेपालजस्तै पलायन हुन सक्ने भन्दै ओलीले गरेको कटाक्षबारे पनि पोखरेलले जवाफ दिए ।
‘प्रतिस्पर्धा गरिन्छ भने त्यसको परिणाम स्विकारिन्छ भन्नेमा हामी दृढतापूर्वक उभिन्छौँ । प्रतिस्पर्धामा जानेहरूले जित्दा मात्रै खुसी होइन, जित्न नसक्दा पनि त्यसलाई स्वीकार गर्न सक्नुपर्छ भन्ने मानसिकता बनाउनुपर्छ भन्नेमा हामी सचेत छौँ,’ पोखरेलले भने, ‘त्यसकारण यसमा भीम रावल र माधव नेपालजीको जस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन । हामीमा प्रतिस्पर्धा गरेर विजयी हुन्छौँ भन्ने विश्वास छ । विजयी नभए पनि एमालेको एमाले भएर रहिरहन्छौँ । यसमा किञ्चित तलमाथि हुँदैन ।’
उनले संकीर्णता हटाएर वाम तालमेलका लागि ढोका खुलै राख्ने नीतिसहित अगाडि बढ्नुपर्ने बताए । ‘हामी वाम तालमेल गर्न चाहनेलाई स्वागत गर्छौँ, संकीर्णता राख्दैनौँ,’ उनले भने । पोखरेलले आफूले पार्टी बैठकमा औपचारिक जानकारी गराएर विधिसम्मत ढंगले नै एघारौँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेको बताए । त्यस्तै, फरक मतका विषयमा पनि अध्यक्ष ओलीलाई टेलिफोनमा औपचारिक कुराकानी गरेरै पार्टी कार्यालयमा महासचिव शंकर पोखरेललाई भेटेर दर्ता गराएको उनको भनाइ थियो ।
‘उम्मेदवारी कुनै झ्वाँकमा गरेको विषय होइन । पार्टीको बैठकमा औपचारिक रूपमा जानकारी गराएको हो । र, पार्टी अध्यक्षसँग कुरा गरेर अवधारणालाई पार्टी केन्द्रीय कार्यालयमा औपचारिक रूपमा दर्ता गरेको हो । यसरी हामी विधिसम्मत ढंगले जान चाहन्छौँ,’ पोखरेलले भने ।
लोकतान्त्रीकरण पार्टीभित्रको धेरै महत्वपूर्ण मुद्दा भएकाले सामूहिक नेतृत्व प्रणालीविना कम्युनिस्ट पार्टी मात्र होइन, कुनै पनि पार्टी चल्न नसक्ने पोखरेलको भनाइ छ । अन्तरसंवादमा पोखरेलसहित उनलाई समर्थन गर्ने उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य तथा सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टसहितका नेता सहभागी थिए ।
‘ओलीले जाँचबुझ आयोगमा बयान दिनुपर्छ’
अध्यक्षका दाबेदार ईश्वर पोखरेलले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले जेन–जी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ आयोगमा गएर बयान दिनु नै उपयुक्त हुने बताएका छन् । आयोगको औचित्यमाथि प्रश्न उठाउँदै ओलीले बयान दिन आनकानी गरिरहेका वेला पार्टीको एउटा समूहका प्रभावशाली नेताले बयान दिन सुझाएका हुन् । यसअघि पोखरेलले नयाँ जनादेशमार्फत अहिलेको राजनीतिक संकटलाई लिकमा ल्याउने विकल्प अगाडि सारेर संसद् पुनस्र्थापनाको एजेन्डा अगाडि बढाएका ओलीमाथि दबाब बनाएका छन् ।
‘सरकारले बनाएको आयोगबारे हाम्रा कतिपय रिजर्भेसेन छन् होला । तर, आयोगले बोलाउने कुरा स्वाभाविक छ । मचाहिँ भए अझै अगाडि गएर बयान दिन्थेँ । त्यसप्रति अवज्ञा गर्ने कुराले राम्रो गर्दैन,’ पोखरेलले भने ।
पहिल्यै आग्रह राखेर निष्कर्ष निकालेको व्यक्तिलाई नै आयोगको अध्यक्ष बनाइएको र उनकै नेतृत्वको आयोगले बयानका लागि बोलाउँदा आशंका स्वाभाविक भए पनि त्यहाँ गएर तथ्य विवरण दिएर वास्तविक घटनाबारे जानकारी दिई सहयोग गर्न सकिने उनको जिकिर थियो । ‘आयोगको अध्यक्षले २३ र २४ भदौको आन्दोलनपछि एउटा मान्यताका आधारमा आफूलाई उभ्याउनुभयो । अब तिनै व्यक्ति आयोगका अध्यक्ष हुँदा निष्पक्ष कसरी हुन्छ भन्ने प्रश्न छ,’ उनले भने, ‘तर, बयान दिन जाने, भन्न जाने, विचार भन्ने र तथ्य प्रस्तुत गर्ने कुरालाई अन्यथा लिन हुँदैन । हाम्रो अध्यक्ष पनि जानुहुन्छ भन्ने मलाई लाग्छ ।’