सिटिजन्स बैंक लगातार दोस्रोपटक ‘बैंक अफ द इयर–२०२५’ बाट सम्मानित भएको छ । बेलायतस्थित द फाइनान्सियल टाइम्सले एक कार्यक्रमबिच बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेलले संयुक्त रूपमा बेलायत पुगेर सम्मान ग्रहण गरेका हुन् । गत वर्ष पनि बैंकले सोही विधामा अवार्ड पाएको थियो ।
अध्यक्ष पाण्डेले बैंकिङ क्षेत्रको ‘अस्कर’ मानिने विश्वकै प्रतिष्ठित बैंक अफ द इयर अवार्डबाट बैंक सम्मानित हुँदा गौरवान्वित महसुस गरेको बताए । साथै, आगामी दिनमा अझ जिम्मेवार बनेर उत्कृष्ट ग्राहकमैत्री आधुनिक बैंकिङ सेवा–सुविधा ग्राहकमाझ ल्याउन हौसला मिलेको पनि बताए ।
त्यसैगरी, सिइओ पोखरेलले यो अवार्ड सबै सरोकारवाला निकायको सहयोग एवं कर्मचारीको अहोरात्र मिहिनेतबाट सम्भव भएको बताए । आगामी दिनमा अझ उत्कृष्ट कार्यसहित सुशासन र प्रुडेन्ट बैंकिङ र हरित बैंकिङका सेवा–सुविधामा थप बल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
द फाइनान्सियल टाइम्सले विभिन्न देशका बैंकले गर्ने कार्यसम्पादन एवं गतिविधि मापन गरी यो अवार्ड दिने गरेको छ । यस अवार्डबाट सम्मानित हुने बैंकहरूको वार्षिक सूची द फाइनान्सियल टाइम्सको म्यागजिन द बैंकरमार्फत प्रकाशित हुने गरेको छ । बैंकले ६१ जिल्लामा फैलिएका दुई सयवटा शाखा, एक सय ६९ वटा एटिएम, तीन विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आएको छ ।