मोरङमा २१ फागुनमा हुने आमनिर्वाचनमा पनि साँघुरा असुरक्षित मतदानस्थल कायमै रहने भएका छन् । मोरङको विराटनगर महानगरपालिकाभित्र र बुढीगंगा गाउँपालिकामा रहेका साँघुरा र जिल्लाभित्र रहेका असुरक्षित मतदानस्थल यथावत् रहने भएका हुन् ।
कायम रहेका साँघुरा, असुरक्षित र अपायक मतदानस्थल सार्न पहिले वडाध्यक्षको नेतृत्वमा रहेको समितिले जिल्लामा सिफारिस गर्नुपर्छ । त्यसपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला निर्वाचन समितिले आयोगमा सिफारिस गर्छ । तर, वडा तहबाटै सिफारिस नआउँदा जिल्ला समितिले पनि सोझै हस्तक्षेप गरेर मतदानस्थल सार्न मिल्दैन । गत ०७९ को स्थानीय तह, संघ र प्रदेशको निर्वाचन शान्त वातावरणमा सम्पन्न भए पनि साँघुरा र अँध्यारा मतदान केन्द्रहरूले गर्दा मतदान गराउने कर्मचारी र मतदाताले सास्ती पाएका थिए ।
हरेक निर्वाचनमा मतदाताको संख्या बढ्ने गरेको छ । तर, स्थानीय वडा तह र जिल्ला समितिले ‘यहीँ नै पायक पर्छ’ भन्दै अनुगमन गरेर सार्न सिफारिस नगर्दा निर्वाचन अयोगले अझै साँघुरा र अँध्यारा मतदानस्थलबाटै निर्वाचन सम्पन्न गराउँदै आएको छ । वडा तहबाटै मतदानस्थल सार्न सिफारिस नहुँदा नयाँ र फराकिलो मतदान केन्द्र कायम गराउन नसकिएको मोरङका प्रमुख निर्वाचन अधिकृत शम्भु दंगाल बताउँछन् । उनका अनुसार विराटनगर महानगरको ट्राफिक चोकस्थित कर कार्यालयभित्र रहेको र संसारी माईस्थानस्थित भानु आधारभूत विद्यालयको मतदानस्थल निकै साँघुरा छन् । तर, वडाध्यक्षहरूले सबैलाई पायक पर्ने ठाउँ भन्दै मतदानस्थल सार्न मानेनन् । प्रमुख निर्वाचन अधिकृत दंगालका अनुसार साँघुरा र असुरक्षित मतदानस्थलमा रहेका मतदान केन्द्रहरूमा मतदाताहरूले मतदान गर्दा सहजै देखिने अवस्था हुन्छ । धेरै साँघुरो हुँदा दलका प्रतिनिधि र कर्मचारी बस्न र मतदातालाई लाइन लाग्न पनि सास्ती हुने गरेको छ ।
विराटनगर महानगरपालिकाका वडा नम्बर ५, ६, १० र १७ मा रहेका मतदान केन्द्रहरू अति संवेदनशील मानिन्छन् । बुढीगंगा गाउँपालिका– १ को देवदह स्थल र २ नम्बरको स्वास्थ्य चौकीभित्र रहेको मतदानस्थल पनि संवेदनशील मानिन्छ । अन्य विद्यालय र सार्वजनिक स्थानहरूको स्तरोन्नति भइसक्दा पनि यहाँ भने केही नै गरिएको छैन ।
इन्सेक कोशी प्रदेश संयोजक तथा निर्वाचन पर्यवेक्षक मनोहर पोखरेल साँघुरो र अँध्यारा मतदानस्थल जिल्ला समितिले हस्तक्षेप गरेर भए पनि सार्न सिफारिस गर्नुपर्ने बताउँछन् । साँघुरा र असुरक्षित मतदानस्थलले गर्दा दलहरूबिच अविश्वास पैदा भएर झैझगडासमेत हुने गरेको उनले बताए । मोरङमा ३०६ मतदानस्थलमा ८३९ मतदान केन्द्र छन् । जसमध्ये सुन्दरहरैँचाको मतदान केन्द्र सार्न सिफारिस गरिसकिएको छ । प्रशासनका अनुसार मोरङको उत्तरी र दक्षिणी सीमावर्ती क्षेत्रका ५० वटा मतदानस्थलका ११४ वटा मतदान केन्द्र ‘अति संवेदनशील’ मानिन्छन् ।
मोरङका सिडिओ युवराज कट्टेलले वडाबाट सिफारिस नआएकाले कहाँ–कहाँ साँघुरा र अपायक मतदानस्थल छन् भन्ने जानकारी पाउन र सार्न सिफारिस गर्न नसकेको बताउँछन् । उनले जानकारी पाएपछि सुन्दरहरैचाको ५ नम्बर वडामा जंगलनजिकको विद्यालयमा रहेको मतदानस्थल अनुगमन गरेर सार्न सिफारिस गरिसकेको बताए ।