निर्वाचनमा भाग लिन १२० दलको निवेदन

नयाँ २७ सहित १४३ दल दर्ता, १२ अझै दर्ता प्रक्रियामा

सोमबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

२१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन १२० दलको निवेदन परेको छ । चार दिन थपेर आइतबारसम्मका लागि तोकिएको समयभित्र दल दर्ता र एकल चुनाव चिह्न प्रयोगको माग गरेर १२० निवेदन परेका हुन् ।अन्तिम दिन आइतबार १२ दलले निवेदन दिएका थिए ।

आयोग प्रवक्ता नारायण भट्टराईका अनुसार प्राप्त निवेदनहरूको १८ मंसिरसम्म जाँचबुझ गरी २० गते दर्ता स्वीकृत गरेर निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको नामावली प्रकाशन गर्ने आयोगको कार्यक्रम छ । त्यस्तै, ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि १३ पार्टीले दल दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । जसमा नयाँ दलको संख्या २७ रहेको निर्वाचन आयोगको कानुन तथा राजनीतिक महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अझै १२ नयाँ दल दर्ताको प्रक्रियामै छन् । 

तोकियो १० हजार ९६७ मतदानस्थल
निर्वाचन आयोगले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १० हजार ९६७ मतदानस्थल तोकेको छ । यो साबिकमा कायम मतदानस्थल संख्याभन्दा ७५ ले धेरै हो । विगतका ९३ मतदानस्थल खारेज गरेर १६८ नयाँ मतदानस्थल थपिएको प्रवक्ता भट्टराईले बताए । उनका अनुसार मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदानस्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने, मतदातालाई साबिककै अर्को मतदानस्थलमा समायोजन गर्नेलगायत काम गरिएको उनले बताए । 

सुझावित समाचार