हेटौँडामा सडक विस्तारको काम २० मंसिरबाट, राजमार्ग बन्द हुने

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

लामो समयदेखि रोकिँदै आएको हेटौँडाको सडक विस्तारको काम मंसिर २० गतेबाट सुरु हुने भएको छ । सडक अतिक्रमण गरी निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले सुरु गरेको छ । रातोमाटेदेखि पशुपतिनगरसम्म र बजारको बुद्ध चोकदेखि कर्रा चोकसम्म रेखांकनको काम भएको डिभिजन सडक कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।  

यसअघि डिभिजन सडक हेटौँडाले ५ मंसिरमा १५ दिने सूचना जारी गर्दै राजमार्गको दायाँ–बायाँ अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचित गरेको थियो । प्रमुख अधिकारीले १९ गतेसम्म स्वैच्छिक रूपमा संरचना हटाउन समय दिइएको बताए । दिइएको समयमा संरचना नभत्काए सडक विभागले कानुनअनुसार संरचना भत्काउने स्पष्ट पारे । ‘राजमार्गको जग्गा अतिक्रमण गरी बनेका संरचना हटाउन यही १९ मंसिरसम्मको सीमा दिएका छौँ । उक्त अवधिमा आफैँले संरचना नहटाए मंसिर २० गते बिहानैदेखि डोजर परिचालन हुन्छ,’ उनले भने, ‘हामीले संरचना हटाउनुपरे त्यसमा लाग्ने खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्छ ।’ 

राजमार्ग बन्द गरेर संरचना भत्काइने
सडक विस्तारको काम २० गतेदेखि सुरु हुने भएपछि बजारभित्र सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने तयारी गरिएको छ । सडक विस्तारका क्रममा महŒवपूर्ण खण्डमा सवारी आवागमन अवरुद्ध हुने भएकाले वैकल्पिक रूपमा विभिन्न बाइपास मार्ग सञ्चालन गरिने भएको हो । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारी तथा प्राविधिक टोलीले चौकीटोलदेखि रातोमाटेसम्मका बाइपास मार्गहरूको अवस्थाबारे निरीक्षण गरेका छन् । निरीक्षणपछि सम्बन्धित सडकखण्ड मर्मत गरी २० गतेसम्म बाइपास मार्ग प्रयोग गर्न सकिने अवस्थामा ल्याउने तयारी गरिएको छ ।

हेटौँडाबाट काठमाडौं–भैँसे हुँदै झर्ने सवारीसाधनलाई चौकीटोल–राप्ती नदी उकास–त्रिवेणीधाम हुँदै रातोमाटेतर्फ लैजाने व्यवस्था मिलाइनेछ । पूर्व–पश्चिम राजमार्गतर्फ पूर्व जाने सवारीलाई राप्ती किनार भएर रातोमाटे मार्ग प्रयोग गराइनेछ । यस्तै, मदन भण्डारी लोकमार्ग र कान्ति लोकपथ हुँदै आउने सवारीसाधनलाई कमानेबाट रातोमाटे निस्कने गरी बजार क्षेत्रमा सीधै प्रवेश रोक्ने व्यवस्था गरिने भएको छ ।

डिभिजन सडक कार्यालयका प्रमुख अधिकारीका अनुसार २० गतेअगावै बाइपास सडकहरूमा भएको अत्यावश्यक मर्मत सम्पन्न गरिनेछ । उनले सडक विस्तारका क्रममा बजारभित्रका मुख्य खण्ड पूर्ण रूपमा बन्द हुने भएकाले वैकल्पिक मार्गको तयारीलाई प्राथमिकता दिइएको बताए ।

See More On

सुझावित समाचार