निर्वाचनअघि नै महाधिवेशनको तालिका ल्याउन देउवा तयार

महामन्त्री थापा ससर्त सहमत, निधि र सिटौला विपक्षमा

आइतबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचनअघि नै पार्टीको नियमित १५औँ महाधिवेशनको तालिका ल्याएर विवाद समाधान गर्न तयार भएका छन् । शनिबार पार्टी पदाधिकारी र नेताहरूसँगको छलफलमा देउवाले चुनावअघि महाधिवेशन गर्न सकिने मितिमा सहमति खोज्न आग्रह गरेका छन् । आफू निकटस्थ नेताहरूसँग थप छलफल गरेर आइतबारसम्म सहमति खोज्ने र सोमबारको केन्द्रीय समितिबाट नियमित महाधिवेशनको कार्यतालिका पारित गर्दै विवाद मिलाउने देउवाको तयारी छ । 

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले देउवाको प्रस्तावलाई सर्तसहित मान्न तयार रहेको उल्लेख गरेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार उनीहरूले पुसभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै महाधिवेशन टार्न खोजिए विधानत: विशेष महाधिवेशन प्रक्रिया सुरु हुने चेतावनी दिएका छन् । नेताद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले केन्द्रीय समितिका बहुमत सदस्य आफूहरूसँग रहेको भन्दै निर्वाचनअघि महाधिवेशनमा जान नसकिने बताएका छन् । 

देउवानिवास महाराजगन्जमा आयोजित छलफलमा देउवासहित कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, रमेश लेखक र बालकृष्ण खाण सहभागी थिए । बैठकको सुरुमै देउवाले भने, ‘मंसिर, पुस, माघ कहिले नियमित महाधिवेशन गर्ने हो, तपाईंहरू सहमति गर्नुस् । विशेष महाधिवेशन रोक्नुस् । पार्टी एकता कायम गर्नुस् ।’ उनले विशेष महाधिवेशन फिर्ता लिन र पुस वा माघमा नियमित महाधिवेशन गर्न सबै तयार हुनुपर्ने बताएका थिए । 

निधि र सिटौलाले देउवाको भनाइमा असहमति जनाए । ‘तपाईंको भनाइमा हामी सहमत छैनौँ । निर्वाचनअघि पुस वा माघमा महाधिवेशन गर्ने कुराले पार्टीमा तिक्तता बढ्छ र पार्टीलाई निर्वाचनमा ठुलो असर पुग्छ । वैशाखको कार्यतालिका पारित गरौँ या त केन्द्रीय समितिको बहुमतबाट निर्णय गरौँ ।’ उनीहरूले आफूहरू दुईजनाको मात्र धारणा नभएर ९० जना केन्द्रीय सदस्यको धारणा यही रहेको जिकिर गरेका थिए । स्रोतका अनुसार वैशाखअघि महाधिवेशन तालिका ल्याउन खोजिए आफूहरू ‘नोट अफ डिसेन्ट’ लेख्ने भन्दै निधि र सिटौलाले विरोध जनाएका थिए । 

शनिबारको बैठकमा महामन्त्री शर्मा, नेता कोइराला र रमेश लेखकले पुस मसान्तभित्र महाधिवेशनको कार्यतालिका ल्याउनुपर्नेमा जोड दिएका थिए । महामन्त्री थापाले सभापति देउवालाई विशेष महाविधेशन आह्वान गर्न आग्रह गरे । उनले सभापति देउवाको सम्मानमा आँच आउने वा पार्टी विभाजन गर्ने मनसाय नभएको, तर उनको सम्मानजनक बहिर्गमनको पक्षमा आफू रहेको बताएका थिए । थापाले पुसभित्र नियमित महाधिवेशनको तालिका ल्याउने प्रस्तावमा आफू नकारात्मक नरहेको, तर यही आधारमा विशेष महाधिवेशको प्रस्ताव फिर्ता गराउन नसक्ने पनि बताएका थिए । ‘म विशेष महाधिवेशन प्रस्ताव फिर्ता लिने कुराको जिम्मा लिन सक्दिनँ,’ उनले भने । 

महामन्त्री थापाले महाधिवेशन नगर्ने गरी कार्यतालिका ल्याउने कुराले अर्थ नराख्नेमा पुन: जोड दिएका थिए । ‘हामीले महाधिवेशनको तालिका खोजेका होइनौँ, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि र हामी सबैले निर्वाचनअघि महाधिवेशन खोजेका हौँ,’ थापाको भनाइ थियो, ‘नियमित महाधिवेशनको कार्यतालिका ल्याउने, तर पुसभित्र महाधिवेशन प्रक्रिया सुरु नगर्ने, आलटाल गर्ने अवस्था आयो भने विशेष महाधिवशेन प्रक्रिया सुरु हुन्छ ।’ थापानिकट एक नेताले थपे, ‘पुसभित्र नियमित महाधिवेशनको तालिकामा हामी सहमत छौँ । तर, जुन दिन महाधिवेशन प्रक्रिया रोकिन्छ, त्यही दिनदेखि विशेष महाधिवेशन प्रक्रिया सुरु हुन्छ ।’

थापाको भनाइमा निधि र सिटौलाले असहमति जनाएका थिए । निधिले बैठकमा भने, ‘हामीसँग बहुमत केन्द्रीय सदस्य छन् । उनीहरू वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । एक वर्ष म्याद थपेर वैशाखमा गरौँ । बहुमत एकातिर, निर्णय अर्कातिर हुन सक्दैन ।’ शनिबारको छलफलमा यही धारणा राखेका निधिप्रति देउवाले आक्रोश पोखेका थिए । ‘तपाईंले पार्टी विभाजन गर्न खोजेको कि मिलाउन खोजेको ?’ उनले प्रश्न गरे । 

देउवाले निधि र सिटौलासँग शनिबार बेग्लै पनि छलफल गरेका थिए । ‘सभापतिजीले शुक्रबार र शनिबारको बैठकमा नरहेका महेन्द्र यादव, डा. प्रकाशशरण महत, प्रकाशमान सिंह, शशांक कोइरालालगायत नेताहरूलाई पुसभित्र नियमित महाधिवेशन तालिका ल्याउन सहमत गराउन आइतबार छलफल गर्नुहुन्छ । अब केन्द्रीय समिति बैठक सर्दैन,’ देउवानिकट एक नेताले भने । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २८ असोजदेखि सुरु भएको छ, तर महाधिवेशन मितिमा शीर्ष नेताबिच सहमति हुन नसक्दा सर्दै आएको छ । 

विशेष महाधिवेशन पक्षधरसँग गगनको बेग्लै बैठक
महामन्त्री गगन थापाले शनिबार सभापति देउवानिवासमा छलफलअघि विशेष महाधिवेशन पक्षधर नेता, आफूनिकट केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला अध्यक्षहरूसँग छलफल गरेका थिए । उनले वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव स्वीकार्य नभएको, तर पुसमा नियमित महाधिवेशन हुन्छ भन्ने विश्वसनीय आधार पनि नभएको बताएका थिए । सहभागी एक नेताले थापालाई उद्धृत गर्दै भने, ‘पुसमा महाधिवेशन गर्ने विश्वस्त आधार हुन्थ्यो भने सभापतिको टिमका निधि र सिटौलाहरूले केन्द्रीय सदस्यको टाउको देखाएर किन हामीलाई थ्रेट गरिरहेका छन् ?’ केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाएदेखि पुसभित्रै विशेष महाधिवेशन वा १५ माघभित्र नियमित महाधिवेशन हुने सुझाब थापालाई सहभागीले दिएका थिए । ‘पुस २७ सम्म क्षेत्रीय अधिवेशन गरेर नयाँ महाधिवेशन प्रतिनिधि छानौँ, त्यसअघि सबै प्रक्रियाहरू सम्पन्न गरौँ । त्यसपछि विशेष महाधिवेशनको कुरा स्वत: निष्क्रिय हुन्छ । हाम्रो भनाइ यही हो,’ विशेष महाधिवेशन पक्षधर नेताले महामन्त्री थापालाई दिएको सुझाव थियो । ‘सभापतिको आह्वानमा र अध्यक्षतामा विशेष महाधिवेशन पुसमा गर्दा सभापतिदेखि सबै पक्षको सम्मान हुन्छ । यदि नियमित महाधिवेशन नहुने अवस्था भयो भने हस्ताक्षरकर्ताले नै विशेष महाधिवेशन आह्वान गर्नुपर्ने अवस्था हुन्छ । त्यो स्थितिलाई सोचेर नेतृत्वसँग छलफल गर्नुहोला,’ एक नेताले भने ।

See More On

सुझावित समाचार