‘राम्रो कृति अनुवाद गरिसकेपछि लोभ पो लाग्छ’

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

साहित्य जगतमा प्रवीण अधिकारी एक कुशल लेखक तथा अनुवादकका रूपमा परिचित छन् । उनले नेपालीबाट अंग्रेजीमा अनुवाद गरेका पुस्तकमा इन्द्रबहादुर राईको ‘लङ नाइट अफ स्टम’, नारायण वाग्लेको ‘कोरियाना कफी गफ’ र अमोद भट्टराईको ‘च्याप्टर्स’ हुन् । अंग्रेजीबाट नेपालीमा उनले नोबेल पुरस्कार विजेता कोरियाली लेखक हान काङको ‘भेजिटेरियन’ अनुवाद गरेका छन् । ‘फोक गड्स’, ‘द भेनिसिङ एक्ट’ र ‘बुढनी’का लेखक अधिकारीसँग अनुवादको सेरोफेरोमा रही राजु स्याङ्तानले कुराकानी गरेका छन् :

प्राय: लेखक आफ्नो पुस्तकलेखनमै जोड दिन्छन् । तर, तपाईंचाहिँ लेखन र अनुवाद दुवैमा व्यस्त हुनुहुन्छ । यो जाँगरको स्रोत के होला ?
मेरो पनि इच्छा त आफ्नै सिर्जनाप्रति समर्पित रहनु हो । कलिलो उमेरमा कविता र कथा लेख्थेँ, अहिले मलाई राम्रो उपन्यास लेख्न मन छ । आफ्नो खुबीले सधैँ भ्याउँदैन, तर प्रयत्न त निरन्तर रहने नै छ । मेरो सौभाग्य रह्यो कि स्कुले जीवनमा मलाई अंग्रेजी र नेपाली पढाउने शिक्षकले दुवै भाषामा लेख्न र लेखिरहन हौस्याउनुभयो । मेरा बा पनि हरेक दिन लेख्नुहुन्छ, अर्काको लेखाइलाई सुधार्ने सपार्ने काम गर्नुहुन्छ । पढाइमा मैले धेरै मिहिनेत गरिनँ, आफूले अलिअलि जानेकै सीपलाई तिखारेँ, चिनेकै बाटो अलिक परसम्म हिँडेँ । यसरी आफैँले लेख्ने र अर्काको लेखनबारे पनि रुचि राख्ने बानी बस्यो । तर, यसमा जाँगरभन्दा बढी परिस्थितिले थोपरेको बाध्यता छ । रोजगारको अनिवार्यता छ । अर्को बाध्यकारी तत्व छ, आफ्नो सीपको सीमितता । आफैँले छानेर अनुवाद गर्ने भन्दा पनि धेरैपटक लेखक वा प्रकाशकले खेताला लगाएकाले अनुवाद गरेको छु । काम गर्ने मान्छेले जाँगर पर्खेर वा आफूलाई मनपर्ने काम मात्रै गर्छु भन्दै बस्ने सहुलियत सधैँ नपाउला । 

मैले अनुवाद गरेका पुस्तक केही छन् । तर, मैले फोटो काठमाडौँ फोटो महोत्सवका लागि गरेका केही अनुवादका काम मलाई ती पुस्तकजत्तिकै वा अझ बढी महत्वपूर्ण लाग्छन् । मैले भारतीय कलाकार अमर कन्वरका लागि गरेको अनुवाद मलाई धेरै महत्वको लाग्छ । यसपटकको फोटो महोत्सवका लागि पनि प्यालेस्टाइन र वरिपरिका अन्य देशका फोटोग्राफरहरूका चिठी अनुवाद गरेको छु, जसलाई पुस्तिकाको आकारमा छापिएको छ र नि:शुल्क वितरण गरिँदै छ । मैले गरिनभ्याएको, गर्न साह्रै डर मानिरहेको अनुवादको काम छ, खगेन्द्र संग्रौला दाइका कथाहरूको । जाँगर त सुविधा हो । प्राय: काम आदेश र त्रासका बिचमै फत्ते गरेको छु ।

अनुवाद गर्न पुस्तक छनोट गर्ने तपाईंको विधि के हो ? 
मूल कृति पढ्दा त्यसले आफूमा ल्याएको वैचारिक र भावनात्मक परिवर्तन नै छनोटका लागि मानक होलान् । म कलेज पढ्दै गर्दा मेरी साथी सराहना श्रेष्ठले ‘जूनकिरीको संगीत’ र ‘पल्पसा क्याफे’ हुलाकबाट पठाइदिएकी थिइन् । द्वन्द्वकालमा देशबाट टाढा रहेको समयमा पढेका यी उपन्यासले ममाथि गहिरो छाप छोडेका थिए । पछि मैले जूनकिरीको संगीतको एक अंश ‘द हाउस अफ स्नो – एन एन्थोलोजी अफ ग्रेटेस्ट राइटिङ्स फ्रम नेपाल’ नामको पुस्तकका लागि अनुवाद पनि गरेँ । नेपालमा यस पुस्तकबारे चर्चा भएन, तर यसमा राम्रा अनुवाद समेटिएका छन् । मेरै अनुवादमा श्रवण मुकारुङ र स्वप्नील स्मृतिका कविता पनि छन् । मभन्दा काबिल साथीहरूले अरू अनुवाद गरेका छन् । नारायण दाइको पनि पुस्तक अनुवाद गर्ने रहर थियो, हालै कोरियानाको अंग्रेजी अनुवाद आएको छ । मैले सक्ने भए त अरू पनि कृति अनुवाद गर्ने थिएँ । तर, अहिले अनुवादका लागि पाइने ज्याला, त्यसलाई राम्ररी टुंगो लगाउन चाहिने समय र अनूदित पुस्तकको बजारबिच तालमेल छैन । राम्रो कृति अनुवाद गरिभ्याएपछि खुबै ईर्ष्या पनि लाग्छ, आफूले त्यस्तो पुस्तक कहिले लेख्ने होला भन्ने अत्यास लाग्छ । कहिलेकाहीँ कामका लागि पाइने ज्यालाभन्दा ठुलो पारितोषिक यही ईर्ष्या हुँदो रहेछ । यसका लागि पनि गरिन्छ । एउटा लेखकले अर्को लेखकलाई सबैभन्दा सम्मान दिने पनि अनुवाद गरेरै हो कि ? 

तपाईंको अनुभवमा अनुवाद गर्दा सबैभन्दा ध्यान दिनुपर्ने पक्ष के हो ?
छुटाउन पाइएन, सकेसम्म थप्न हुँदैन, छुटाउनुभन्दा अर्थ खुलाउनका लागि थोरै थपेकै स्वीकार्य । बाँकी आफ्नो सिकाइ र सीपबिचको खाल्डोमा पौडिने नै हो । पानीको माछाले पानी नबुझेझैँ हामीले आफ्नो भाषा बुझेका हुँदैनौँ । प्राय: लेखक कविलाई नै पनि यो बोध हुँदैन । अनुवादमा आफूले चलाएका शब्दबारे अनभिज्ञ रहने सुविधा रहँदैन । हिज्जे बिगारे अर्काले सपारिदेलान्, ज्ञानको अल्पताका कारण शब्दचयनमा चुकेसम्म क्षमायोग्य रहिएला । तर, स्वपरीक्षणका अभावले शब्दचयनमा चिप्लने नै अनुवादक भने लायक होइन । म धेरैपटक चुकेको छु, चिप्लिएको छु । 

यी त भए अनुवादकले ध्यान दिनुपर्ने कुरा । प्रकाशकले ध्यान दिनुपर्ने झनै धेरै चिज छन् भन्ने लाग्छ । असल कृतिको योग्य अनुवाद अन्य प्रकाशनभन्दा महँगो हुनैपर्छ भन्ने पाठकलाई सिकाउनुपर्छ । पुस्तकको मूल्यमा अनुवादकका लागि उचित पारिश्रमिक नसमेट्नु गल्ती हो । मलाई खुबै मनपर्ने एक लेखक मित्रको उपन्यास अनुवाद गर्न दिल्लीका प्रकाशकले आग्रह गर्दा मैले अनुवाद गर्न मलाई लाग्ने समय र मैले पाउन सक्ने ज्याला दाँजेर हेर्दा आफ्नै खर्च दोब्बरजसो आउने देखियो । देशका प्रकाशक मिलेर अनूदित कृतिका लागि सानोतिनो पुरस्कार राशी स्थापना गर्ने, हरेक वर्ष अब्बल मानिएका पुस्तक अनुवाद गर्ने खर्च जोहो गर्न राज्यलाई गुहार्ने गरे त्यस्ता कृति अनुवाद गर्ने आँट आउँथ्यो होला । नयाँ पुस्ताका अनुवादक हौसिन्थे होलान् ।   

हात परिसकेको अनुवादका लागि प्रकाशकले दुवै भाषामा पोख्त सम्पादक नखोज्नु साह्रै ठुलो अपराध हो । इन्द्रबहादुर राईका कथा अनुवाद गर्दा मेरा सम्पादक अनुराग बस्नेत थिए । उनी आफैँ प्रतिभाशाली अनुवादक हुन्, उनले सञ्जय विष्टको ‘माटाको घर’ र लेखनाथ क्षेत्रीको ‘फुलांगे’ नेपालीबाट तथा रविश कुमार र अनिल यादवका पुस्तक हिन्दीबाट अनुवाद गरेका छन् । नयनराज पाण्डेको ‘सल्लीपिर’ पनि प्रकाशोन्मुख छ । उनैले ‘कोरियाना’को पनि अनुवाद सम्पादन गरेका हुन् । प्रकाशकहरूले हामी अनुवादकलाई अनुरागजस्ता सम्पादकसँग काम गर्ने मौका जुटाइदिनुपर्छ । नत्र, अनुवाद गरिएका पुस्तक बजारका लागि मात्रै बन्छन्, तिनले अनुवादक र सम्पादकलाई सीप थप्ने वा तिखार्ने मौका बनाइदिँदैनन् । यसले साहित्यलाई साँघुरो बनाइदिन्छ र समाजलाई वैचारिक हिसाबमा दरिद्र । 

अनूदित पुस्तकलाई पाठकले कत्तिको माया गर्ने रहेछन् ?
अनुवाद अत्यन्तै खराब भए पाठकले झिँझो मान्लान्, पुस्तक नपढ्लान् । तर, पाठकले मूल पुस्तककै विषय मन पराउने हो, अनुवाद गर्नमा हामीले खर्चिने मिहिनेतलाई होइन भन्ने मेरो बुझाइ छ । हामीले सधैँ अनुवादका पुस्तक पढेकै हौँ, यो अनुवाद थियो कि मूलभाषामा भनेर सोध्ने चलन त भर्खरैको हो कि भन्ने लाग्छ । मैले आफूले गरेको काममा अमोद भट्टराई दाइको कथासंग्रह ‘च्याप्टर्स’, इन्द्रबहादुर राई सरको कथासंग्रह ‘लङ नाइट अफ स्टर्म’ र नोबेल विजेता किरियाली लेखक ‘हाङ काङ’को ‘भेजिटेरियन’लाई पाठकले रुचाए । 

कुनै अर्को अनुवादकले तपार्ईंले अंग्रेजीमा लेख्नुभएको पुस्तक नेपालीमा अनुवाद गर्छु भन्यो भने तपाईंको उत्तर के हुन्छ ? 
गुड लक एन्ड थ्यांक यू । मेरा बाले मैले पुनर्कथन गरेको लोककथासंग्रह ‘फोक गड्स’लाई ‘लोक देवताहरू’ शीर्षकमा अनुवाद गर्नुभएको छ । इसिमोडको वेबसाइटबाट डाउनलोड गर्न पनि सकिन्छ, सफु प्रकाशनबाट पुस्तक पसलहरूमा पनि उपलब्ध छ । त्यसबाहेक अहिलेसम्म जम्मा दुईजनाले मात्रै मेरा कथा अनुवाद गर्ने कष्ट गर्नुभएको छ, खगेन्द्र संग्रौला दाइले ‘मायापुरी’ शीर्षकको कथा अनुवाद गर्नुभएको छ भने इशान मैनालीज्यूले ‘आई रियल्ली गट्टा ह्याभ दोज फ्राइज म्यान !’ भन्ने निबन्ध अनुवाद गर्नुभएको छ । ऐँचोपैँचो गरे अनुवादमा सबैलाई फाइदा हुन्थ्यो भन्ने आशयको एक सन्ध्या–संवादबाट खगेन्द्र दाइसँग एक–अर्काको काम अनुवाद गर्ने सहमति भयो । इशानले भने आफ्नै रुचिले ।

तपाईंले नेपालीबाट अंग्रेजीमा र अंग्रेजीबाट नेपालीमा पनि अनुवाद गर्नुभएको छ । कुनचाहिँ अनुवाद गर्दा आनन्द आयो ? 
म अंग्रेजीमा आख्यान लेख्छु, बिस्तारै गैरआख्यान लेख्न सिक्दै छु । त्यसैले नेपालीबाट अंग्रेजीमा अनुवाद गर्दा मेसो अलि छरितो सर्छ । तर, अंग्रेजीबाट नेपालीमा अनुवाद गर्दा मैले जति चुनौती सामना गर्छु, त्यसले मेरो सीपलाई मलजल गर्छ । सत्य यो हो, चुनौती भाषाले भन्दा बढी सर्जकका कारण आउँछन् । इन्द्रबहादुर राई र खगेन्द्र संग्रौला दुवै अंग्रेजीमा मास्टर्स डिग्री गरेका र नेपाली साहित्यमा महत्वपूर्ण कृति प्रकाशन गरेका लेखक हुन् । मैले उहाँहरूको नेपालीलाई अंग्रेजीमा उल्था गर्दा मेरा कमी–कमजोरी उहाँहरूबाट लुकेको हुँदैन । मैले अंग्रेजीबाट नेपालीमा अनुवाद गरेका पुस्तकमध्ये हाङ काङको ‘भेजिटेरियन’ बुकहिलबाट प्रकाशित छ भने म्यागी डोयनको संस्मरण अहिलेसम्म आएको छैन । यी पुस्तक दुवै महिलाले लेखेका, अत्यन्तै कोमल र सूक्ष्म, तर जटिल भावना बोकेका कृति । यी पुस्तकमा काम गर्दा छुट्टाछुट्टै आनन्द आयो ।   

अनूदित पात्रसँग डुल्दा मजा कि आफैंले निर्माण गरेका पात्रसँग डुल्दा ? 
अर्काले लेखेको कथामा पात्रहरूसँग मात्रै होइन कि सर्जक, उनको सांस्कृतिक र ऐतिहासिक परिवेश, सौन्दर्यचेत र दर्शन सबैसँग एकसाथ धेरै तहमा साक्षात्कार हुन्छ । आफूले लेख्दै गरेको वा लेखिसकेको कथामा शिल्प र त्यससापेक्ष आफ्ना कमजोरीसँग जम्काभेट हुन्छ । हरेक स्वरूपको साधनामा झैँ दुवै कामले तत्काल र सुदूर भविष्यमा गरी दुई प्रकारका आनन्द दिने सम्भावना रहन्छ । अर्काले निर्माण गरेको पात्रको हाउभाउ हेरिन्छ, तिनले भनेका कुरा सुनिन्छ, केहीबेर हातेमालो गर्दै विहार गरिन्छ । तर, तिनलाई बिसाउने गन्तव्य आइहाल्छ । उनीहरू डाँडापारिको गाउँबाट दुई दिन बास बस्न आएका पाहुना हुन् । आफूले पात्र निर्माण गर्नु भनेको आफैँलाई निर्माण गर्ने शाश्वत कर्मको सानो अंश हो । आफूले बनाउने कथा, परिवेश र पात्र प्रश्न हुन् । यी आफ्नो अपूर्णताका संकेत पनि हुन् । 

हरक्षेत्रमा एआईको दबदबा बढ्दो छ । भविष्यमा अनुवादको संसारमा यसले कस्तो प्रभाव पार्ला ?
एआईलाई विवेकसम्मत प्रयोग गरेर आफ्नो काम सजिलो बनाउने हो, त्यतिसम्म ठिकै छ । अहिले पनि संघसंस्थाहरूलाई आवश्यक पर्ने अनुवाद कार्यमा एआईले खर्च घटाउन सहयोग गरिरहेको छ । साना व्यवसायका लागि विज्ञापनका लागि आवश्यक पाठ लेख्न र डिजाइन गर्नमा एआईको प्रयोग बढ्दो छ । अन्य भाषाका समाचार पढ्न सकिने भएको छ । यसले पक्कै फाइदै हुन्छ । 

तर, तपाईंको प्रश्नमा लुकेको अर्को प्रश्न यस्तो हुन सक्छ, एआईबाट आउने उत्पादन हो कि सिर्जना हो ? एआईले साँच्चै मानव संवेदनालाई पक्रिएर सिपालु कथाकविता एकै सेकेन्डमा लेखिदिन्छ र ती कथाकविता पढ्दा हामीमा नयाँ अनुभूति र विचारको उद्भव हुन्छ भने त्यसलाई सिर्जना मान्नुपर्ने हुन्छ । एआईले बिजुली खाएर एकै घण्टामा करोडौँ उपन्यास लेखिदेला रे ! तर, ती उपन्यास पढ्न हामीलाई त जुगौँ लाग्छ । पाठकले पढेर, भोगेर, त्यसबारे मनन गरेर आफ्नो जीवनमा, दर्शनमा, राजनीतिमा स्थान नदिने हो भने कुनै पनि सिर्जित कृतिको के उपादेयता रहन्छ ? हाम्रो सीमित समय चोरेर विज्ञापनमार्फत आफ्ना सेयरवालाका लागि आम्दानी खिच्न ठुला सामाजिक सञ्जाल कम्पनीले सर्टफर्म कन्टेन्टका नाममा पोस्टिने रिल र भिडियोका कारण कविता र कथा लेख्ने वा असल अनुवादमार्फत एउटा कालखण्ड, संस्कृति, परिवेश र वैश्विक चेतनाबाट अर्कोसम्म ज्ञान र अनुभवलाई ओसारपसार गर्ने काम नै अस्तित्ववादी जोखिममा पर्छन् भन्ने पत्याउन मुस्किल लाग्छ । बजारको आफ्नै तर्क र तुजुक होलान् । तर, हरेक व्यक्तिमा निहित सिर्जनात्मकता र कर्तृत्व त्यसका सामु सजिलै निहुरिन्छ भन्ने मलाई लाग्दैन । 

अनुवाद भन्नेबित्तिकै अंग्रेजीबाट नेपाली, नेपालीबाट अंग्रेजी बुझिन्छ । नेपालभित्र यति धेरै जातिका आफ्ना रचना छन् । थारू समुदायको कथा ‘बुढनी’ तपाईंले लेख्नुभयो र त्यसलाई इन्दु थारूले आफ्नो भाषामा अनुवाद गर्नुभयो । यसैगरी, सबै भाषामा लेखिएका साहित्यहरू खस भाषामा वा अंग्रेजी भाषामा अनुवाद भए यसले नेपाली साहित्यको क्यानभासमा कस्तो फरक पार्ने थियो होला ?

अंग्रेजीमा अनुवाद भए विश्वसामु पुग्थ्यो, हाम्रो देशका साहित्यकारको ख्याति र बजार दुवै फराकिलो बन्थ्यो भन्ने एउटा तर्क छ । ठिकै हो । तर, देशका यति थरी भाषाले एक–अर्कासँग पनि अलि सजिलै बोल्न, घुलमिल हुन पाउनुपर्ने हो भन्ने मेरो बुझाइ हो । अरू थुप्रै भाषाबाट धेरै शब्दभण्डार सोहरेर आफ्नै हो भन्ने भ्रममा हिँडिरहेको भाषा हो मूलधारको नेपाली । नेपालका अन्य भाषाबाट पैँचो ल्याएको शब्दलाई अर्को भाषाको भनेर बताउनमा खुबै कन्जुस्याइँ गर्छ यसले । नेवाबाट आएका शब्द, तामाङबाट आएका र अवधीबाट आएकालाई आफ्नै प्रयोगभित्र पनि राम्ररी चिन्न, बुझ्न पाए अक्षर लेखेर बाँच्ने हामी नै समृद्ध हुन्थ्यौँ । ती शब्दले बोकेका थरिथरीका इतिहास सिकिन्थ्यो, ती भाषाप्रति अनुराग जाग्थ्यो । अर्को समुदायको कथा सुन्नै नमान्ने, अर्को भाषाका गीतमा रमाउनेलाई शत्रु देख्ने, अलिक परको समुदायको पहिरन लगाए पराई मान्ने प्रवृत्ति समाजमा फैलिए द्वन्द्वलाई पोषण पुग्छ । छिमेकीको घरमा आगो लगाएर हात सेक्नेहरू अगुवा बन्न अघि सर्छन् । त्यसैले, पनि सबै भाषाबिच अनुवादको सेतु बनेकै बेस । 

See More On

सुझावित समाचार