छिमेकी मुलुक चीनको सिजाङ (तिब्बत)सँग जोडिएको तातोपानी नाका पहिलेझैँ गुल्जार हुन अझै दुई वर्ष कुर्नुपर्ने अवस्था छ। कारण हो– भूकम्पपछिको खासा पुनर्निर्माण । लिपिङबाट १२ किलोमिटर टाढा खासा सीमावासीको भविष्य बोकेको ठाउँ हो । खासा र तातोपानी रोटीबेटीको सम्बन्ध भएको सीमाका बजार हुन् । खासामा बस्ने तिब्बती र भोटेकोशी क्षेत्रमा बस्ने नेपालीबिच व्यापारिक र व्यावहारिक मात्रै होइन, वैवाहिक सम्बन्ध नै छ ।
भूकम्पपछि खासा, रमिते र पाङाका तिब्बती सिँगात्से सहरमा सरेका छन् । उनीहरूको घरबार व्यवस्थापन चीन सरकारले गरिदिएको छ । तिब्बतीहरू खासालाई डाम र चिनियाँहरु जाङ्मु भन्छन् । पुनर्निर्माण सकेपछि त्यहाँका स्थानीय घर फर्कन चाहेमा खासामा पुनर्स्थापन गरिने चीन सरकारको तयारी छ । भूकम्पअघि खासा एउटा सामान्य बजारको रूपमा थियो । अब एउटा सुन्दर सहरको रूपमा स्थापित हुँदै छ ।
तातोपानी–खासा क्षेत्रमा व्यापार गर्ने चिनियाँ भाषाको नेपाली दोभाषे स्थानीय लोप्साङ शेर्पा भन्छन्, ‘खासा अब मिनी सहर बन्दै छ । ठुला भवन, चौडा सडक र सुन्दर बस्तीले यसलाई नेपाल–चीन सीमाको एउटा सहरको रूपमा चिनाउनेछ ।’ खासासँगै तातोपानी नाकाको भविष्य पनि जोडिएको छ । ०४५ बाट आधुनिक व्यापार सुरु भएयता ०७२ सम्म झन्डै ३० वर्ष भोटेकोसी र बाह्रबिसेवासीको दिनचर्या यही नाकामा व्यतित भयो । सानाठुला व्यापार गरेर सीमावर्ती स्थानीयले गुजारा गर्दै आएका छन् । ०७२ को विनाशकारी भूकम्पले तातोपानी नाका तहसनहस पार्याे । त्यसयता नाका नियमित छैन ।
‘खासा पुनर्निर्माणपछि चिनियाँ नीति कस्तो हुन्छ त्यसमै तातोपानी नाकाको भविष्य निर्भर छ,’ शेर्पाले भने । चिनियाँ कम्पनीहरूले खासा पुनर्निर्माणलाई तीव्र पारेका छन् । गगनचुम्बी महल, व्यापारिक कम्प्लेक्स, आधुनिक पार्किङदेखि पर्यटकीय पूर्वाधार सबै निर्माण भइरहेका छन् । खासा सहरभित्र जाने अलग्गै सडक बनेको छ भने ठुला कन्टेनर आवतजावत गर्ने सडक अलग्गै पुनर्निर्माण हुँदै छ । रमिते र खासा जोड्न तीन सय मिटर लामो पक्की पुल बनिरहेको छ । पुलको जग तयार हुँदै छ।
पुलको पक्की स्ल्याब चिनियाँ सहरबाट ल्याएर जडान गर्ने योजना रहेको चिनियाँहरूको भनाइ उद्धृत गर्दै शेर्पाले भने । पुल सन् २०२६ सेप्टेम्बरसम्म सम्पन्न हुने उनले बताए । नयाँ खासा कहिलेदेखि खुला हुन्छ भन्ने विषय चिनियाँहरूले हालसम्म बताएका छैनन् । यद्यपि, २०२८ को सुरुवातमा खासा खुला हुने अपेक्षा गरिएको छ । खासामा पहिले जसरी वान डे पास सुरुका केही वर्ष लागू नहुने बताइएको छ । सिन्धुपाल्चोकवासीका लागि मात्रै अस्थायी पास लागू गरिनेछ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले पुनर्निर्माण सम्पन्न हुनसाथ खासा बजार खुला हुने विश्वास व्यक्त गरे । ‘डिसेम्बरमा नेपाल–चीनबिच सीमासम्बन्धी नियमित बैठक हुँदै छ । त्यसवेला खासा बजार खुला गर्ने, सीमाका समस्या र कोदारी राजमार्ग पुनर्निर्माणबारे विस्तृतमा छलफल हुन्छ,’ उनले भने ।
भूकम्पपछि बन्द नाका ०७६ जेठमा आंशिक खुला भयो । ०७९ देखि सिन्धुपाल्चोकवासी मितेरीपुलपारि चिनियाँ पसलहरूमा सामान किन्न जान थाले । अहिले नेपाली कन्टेनर सामान लिन रमितेसम्म जान पाउँछन् । भूकम्पअघि नेपालबाट दैनिक उपभोग्य वस्तु चामल, पिठो, मैदा, तरकारी , फलफूल , घिउ, मासु, हस्तकलाका सामग्री, जडीबुटीलगायत अन्य घरायसी सामग्री खासा निकासी हुन्थ्यो । नेपालीहरू दसैँका लागि भेँडाच्यांग्रा खरिद गर्न खासाबाट ३० किलोमिटर पर न्यालमसम्म पुग्थे । खासा र न्यालममा नेपालीहरूको एक सयभन्दा बढी पसल र होटेल थिए । बेलुका भएपछि खासा बजारका होटेल, रेस्टुरेन्ट, डान्सबार र क्लबहरू नेपाली किशोर–किशोरीले भरिन्थे । भूकम्पपछि नेपाली वस्तु निकासी ठप्प छ । पुनर्निर्माणको कारण नेपाल निर्यात हुने चिनियाँ फलफूल र रेडिमेड सामान बोकेका कन्टेनर खासा र न्यालम क्षेत्रमा महिनौँदेखि क्युमा बसिरहेका छन् । नयाँ विद्युतीय गाडीको लाम उसैगरी लागेको छ ।
कोदारी राजमार्ग पुनर्निर्माण मंसिरबाट
भूकम्पले ध्वंस पारेको कोदारी राजमार्ग पुनर्निर्माण यही मंसिरबाट सुरु गरिने भएको छ । एक अर्ब ४३ करोड १० लाख बजेटमा मृत सञ्जीवनी गोल्वा जेभीले पुनर्निर्माणको ठेक्का पाएको हो । बाह्रबिसेदेखि लिपिङसम्म २८ किलोमिटर सडक मर्मत गरेर दुई लेन कालोपत्रे गरिनेछ । यसका लागि सडक डिभिजन कार्यालय चरिकोटसँग सो जेभी ठेकेदार कम्पनीले सम्झौता गरिसकेको छ ।ठेक्का सम्झौतापछि यही महिनाबाट पुनर्निर्माणको काम सुरु हुने सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए। ठाउँठाउँमा भत्किएको पुल र पहिरो नियन्त्रणका लागि छुट्टाछुट्टै ठेक्का सम्झौता हुने उनले प्रस्ट्याए। सीमावर्ती गाउँ चाकु, हिन्दी, खोकुन्डोल, तातोपानी र लिपिङमा ढलेका निजी घरको भग्नावशेष नहटाउँदा सडक निर्माणमा समस्या पर्ने देखिएको छ। निर्माण कम्पनीका प्राविधिक टोली सडकको साइटमा खटिएका छन् ।
‘सडक डिभिजनको डिपिआरअनुसार ठेक्का सम्झौता भएको छ । अब ठेकेदार कम्पनी र हाम्रो प्राविधिक टोलीले संयुक्त रूपमा सडकको अन्तिम सर्भे गर्छौँ र काम सुरु गरिहाल्छौँ,’ भण्डारीले भने, ‘सधैँ दुःख दिइरहेको कोदारीस्थित इको पहिरोका लागि पनि ४८ करोडको स्रोत सुनिश्चितता भएको छ ।’ बाह्रबिसेबाट बन्देउसम्म सडक पुनर्निर्माण जारी छ । चीनको सीमाना खासा र नेपालपट्टि तातोपानीको सडक पुनर्निर्माण जारी रहेकाले तातोपानी नाका दुई वर्षपछि नयाँ रूपमा सञ्चालन हुने लगभग निश्चित छ ।