अर्काे सिजनबाट बंगलादेशमा कुल ६० मेगावाट विद्युत् निर्यात हुने
नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । बुधबार र बिहीबार बंगलादेशमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकमा नेपालबाट थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । नेपालका ऊर्जा सचिव चिरञ्जीवी चटौत र बंगलादेशका ऊर्जा सचिव फर्जना ममताजको सहअध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
नेपालले अहिले वर्षमा असार–कात्तिकसम्म ४० मेगावाट विद्युत् बंगलादेशलाई बिक्री गर्दै आएको छ । ३० कात्तिक ०८१ बाट यसको सुरुवात भएको थियो । त्यही मोडेलमा अब थप २० मेगावाट विद्युत् निर्यात गर्ने नीतिगत सहमति भएको बैठकमा उपस्थित ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले जानकारी दिए । यससँगै बंगलादेशमा कुल ६० मेगावाट विद्युत् निर्यात हुने भएको छ । ‘बैठकमा थप २० मेगावाट विद्युत् नेपालबाट बंगलादेश निर्यात गर्ने सहमति भएको छ । यो बंगलादेश र नेपालबिच भएको द्विपक्षीय सहमति हो,’ बंगलादेशबाट टेलिफोन वार्तामा उनले भने, ‘अब भारतसँग पनि यसबारे थप सहमति लिनुपर्छ । त्यसको प्रक्रिया अब अघि बढाउँछौँ ।’
नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न १७ असोज ०८१ मा नेपाल, भारत र बंगलादेशबिच त्रिपक्षीय सम्झौता भएको थियो । नेपाल विद्युत् प्राधिकरण, भारतको तर्फबाट एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) र बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डबिच त्रिपक्षीय सम्झौता भएको थियो । नेपालले विद्युत् निर्यात गर्दा प्रतियुनिट ६.४० अमेरिकी सेन्ट प्राप्त गर्नेछ । सम्झौताको अवधि पाँच वर्षको छ ।
सोही सम्झौतालाई संशोधन गरेर विद्युत् निर्यात मात्रा ४० मेगावाटको ठाउँमा ६० मेगावाट राखिनेछ । यसका लागि दुवै देशले भारतसँग आवश्यक पहल गर्नेछन् । ‘त्रिपक्षीय सम्झौतालाई नै संशोधन गरेर ४० मेगावाटको ठाउँमा ६० मेगावाट राखिनेछ । सम्झौतामा उल्लेख अन्य सर्तहरू यथावत् रहनेछन् । अब भारतबाट सहमति लिने प्रक्रिया अघि बढ्छ,’ मन्त्रालयका प्रवक्तासमेत रहेका देवले भने ।
अब यो सहमति कार्यान्वयन हुन भारत पनि नीतिगत रूपमा सहमत हुनुपर्नेछ । किनकि, यसमा भारतीय प्रसारणलाइन नै प्रयोग हुन्छ । साथै, निश्चित आयोजनालाई स्रोत देखाएर भारतको डेजिक्नेटेड अथोरिटीबाट स्वीकृति लिनुपर्छ । हाल ४० मेगावाट विद्युत् निर्यातका लागि त्रिशूली जलविद्युत् परियोजनाबाट १८.६० मेगावाट र चिलिमे जलविद्युत् परियोजनाबाट २१.४० मेगावाटलाई स्रोत देखाइएको छ । अब थप २० मेगावाट विद्युत्का लागि परियोजना देखाएर सहमति लिनुपर्नेछ । साथै, भारतीय प्रसारणलाइन प्रयोग गर्न त्यहाँको नेसनल लोड डिस्प्याच सेन्टर (एनएलडिसी)बाट ‘नो अब्जेक्सन लेटर’ पनि लिनुपर्छ । एनएलडिसी भारतको विद्युत् प्रसारण प्रणाली व्यवस्थापन गर्ने निकाय हो ।
थप ४७ लाख डलर आम्दानी हुने
२० मेगावाट थप हुँदा बंगलादेशबाट एक सिजन (पाँच महिना)मा थप ४७ लाख डलर आम्दानी हुनेछ । जुन बिहीबार विनिमय दर प्रतिडलर १४२.५४ रुपैयाँअनुसार वार्षिक ६६ करोड ९९ लाख रुपैयाँ हुनेछ । २० मेगावाट विद्युत् थप हुँदा पाँच महिनाको अवधिमा थप सात करोड ३४ लाख ४० हजार युनिट विद्युत् निर्यात हुनेछ । पाँच महिनासम्म ४० मेगावाट विद्युत् निर्यात गर्दा नेपालले वार्षिक ९२ लाख १६ हजार डलर आम्दानी गर्ने थियो । अब त्यो बढेर पाँच महिनामा एक करोड ३९ लाख १६ हजार डलर आम्दानी हुनेछ ।
यसरी हुनेछ बंगलादेशमा बिजुली निर्यात
प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनमार्फत भारतको मुजफ्फरपुर विन्दुसम्म विद्युत् पुर्याउनेछ । बंगलादेशमा निर्यात हुने विद्युत्को मिटर त्यही मुजफ्फरपुरमा रहनेछ । त्यसकै आधारमा प्राधिकरणले बंगलादेशबाट भुक्तानी पाउनेछ । नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्टको दरमा भुक्तानी पाउनेछ ।
मुजफ्फरपुरबाट उता भने बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) चार सय केभी प्रसारणलाइन हुँदै बंगलादेश विद्युत् पुर्याइनेछ । त्यसपछिको प्रसारणलाइन शुल्क, चुहावट, एनभिभिएनले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्क बंगलादेशले नै व्यहोर्नेछ । प्रसारणलाइन प्रयोग गर्न दिएबापत भारतले पनि बंगलादेशबाट निश्चित शुल्क पाउनेछ । बंगलादेशमा सीमासम्म पुग्दा विद्युत्को लागत प्रतियुनिट करिब ७.६ सेन्ट पुग्नेछ ।
थप विद्युत् निर्यातका लागि प्रसारणलाइनको क्षमता अध्ययन गरिने
बंगलादेशमा ६० मेगावाटबाहेक थप विद्युत् निर्यात गर्न भारत र बंगलादेशबिच सञ्चालित अन्य प्रसारणलाइनको पनि क्षमता अध्ययन गर्ने सहमति भएको छ । अहिले भारतले नेपाली बिजुली बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) विन्दुबाट पठाउने गरेको छ । अब बरापुकारया, पञ्चगढ–ठाकुरगाउँ, भेरामारा र कोमिल्ला विन्दुका प्रसारणलाइनबाट पनि विद्युत् निर्यात गर्ने सम्बन्धमा अध्ययन गर्ने सहमति भएको छ ।
‘नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको बरापुकारया, पञ्चगढ–ठाकुरगाउँ, भेरामारा र कोमिल्लासम्मका प्रसारणलाइनमार्फत विद्युत् निर्यात गर्न अध्ययन गर्ने,’ ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यहाँका प्रसारणलाइनको क्षमताले भ्याउने अवस्थामा थप विद्युत् निर्यात गर्न सकिने प्रवक्ता देवले बताए ।
सुनकोशी–३ बनाउन छिट्टै संयुक्त लगानी सम्झौता
६ सय ८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत् परियोजनाको निर्माण अघि बढाउन छिट्टै जोइन्ट भेन्चर एग्रिमेन्ट गर्ने सहमति पनि भएको छ ।
नेपाल र बंगलादेशको संयुक्त लगानीमा यो परियोजना बनाउने गरी २५ साउन ०७५ मा सहमति भएको थियो । संयुक्त रूपमा यो परियोजना बनाउन लगानीको खाका तयार भइसकेको छ । अब त्यसलाई बंगलादेशले आवश्यक मूल्यांकन गर्नेछ । त्यसपछि लगानीको प्रक्रिया अघि बढ्नेछ ।
‘सुनकोशी–३ जलविद्युत् आयोजनाको लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रियालाई अघि बढाउने तथा जोइन्टर भेन्चर एग्रिमेन्ट छिटो टुंग्याउने,’ विज्ञप्तिमा भनिएको छ । यो परियोजनाको विद्युत् पनि बंगलादेश निर्यात गर्ने सहमति यसअघि नै भइसकेको छ । यो परियोजनाको लागत अनुमान एक अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ ।
इभी चार्जिङ र रुफटप सोलारमा बंगलादेशले प्राविधिक सहयोग गर्ने
बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, विद्युतीय गाडी (इभी) चार्जिङ, रुफटप सोलारजस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्ने सहमति पनि भएको छ । ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवद्र्धन गर्नेसम्बन्धी समझदारीपत्रमा आ–आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने । उक्त सम्झौताअन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, इभी चार्जिङ, रुफटप सोलारजस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्ने,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै, नेपाल र बंगलादेशबिच क्षमता अभिवृद्धि कार्यक्रम सुरु गर्ने पनि सहमति भएको छ । बंगलादेशी पक्षका लागि पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौंमा गरिनेछ । त्यसपछि नेपाली पक्षका लागि बंगलादेशमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै, नेपाल, भारत र बंगलादेशबिच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा भारतको सहमतिका लागि दुवै देशले संयुक्त रूपमा प्रयास गर्ने सहमति भएको छ ।