- मुस्ताङ जाने विदेशीमध्ये सबैभन्दा धेरै फ्रान्सका रहेका छन्, त्यसपछि अमेरिका, इटाली, जर्मनी, रसिया, बेलायत, चीन, पोल्यान्डका नागरिक मुस्ताङ भ्रमणमा
पछिल्लो ६ वर्षमा माथिल्लो मुस्ताङ क्षेत्रमा जाने विदेशी पर्यटकको संख्या ६६ गुणाले बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कागबेनीस्थित चेकपोस्टमा कार्यरत क्षेत्रबहादुर गुरुङका अनुसार माथिल्लो मुस्ताङ जाने विदेशी पर्यटक बढेका हुन् । सन् २०२० मा जम्मा ६२ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरेकोमा २०२५ मा तीन हजार तीन सय ५९ जना पुगेको गुरुङले बताए ।
सरकारले विदेशीका लागि तिर्नुपर्ने शुल्क परिमार्जन गरेसँगै त्यस क्षेत्रका पर्यटन व्यवसायी एवं स्थानीयहरू खुसी भएका छन् । दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले शुल्कमा हेरफेर भएसँगै आउने पर्यटकको संख्यामा वृद्धि हुने बताए । माथिल्लो मुस्ताङ क्षेत्रमा जाने विदेशी नागरिकले अब प्रवेश शुल्कबापत दैनिक ५० अमेरिकी डलर तिर्नुपर्ने भएको छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यसअघि कायम रहेको पदयात्रा शुल्क दस्तुरमा हेरफेर गर्दै नयाँ शुल्क ५० डलर कायम गरेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत रहेको माथिल्लो मुस्ताङमा पर्ने क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेर विदेशी पर्यटकसँग शुल्क उठाउँदै आएको छ । यसअघि त्यस क्षेत्रमा जाने पर्यटकले अनिवार्य रूपमा पाँच सय डलर तिरेर १० दिनको पदयात्राको अनुमति पाउने व्यवस्था थियो । दस्तुरमा हेरफेरसँगै अब त्यस क्षेत्रमा पदयात्राका लागि जाने विदेशीले आफूले घुम्न चाहेको दिनको मात्र दैनिक ५० डलरका दरले शुल्क तिरे हुने भएको छ ।
मन्त्रिपरिषद् बैठकले अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्दै प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर वा सोबराबरको विदेशी मुद्रा तिर्नुपर्ने व्यवस्था गरेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने माथिल्लो मुस्ताङ जाने पर्यटकले अध्यागमन विभागमा तोकिएको शुल्क तिरेर पदयात्राका लागि अनुमति लिनुपर्ने व्यवस्था रहेको आयोजनाका सूचना अधिकारी बाबुलाल तिरुवाले जानकारी दिए । यसअघि १० दिनका लागि एकमुस्ट शुल्क तिनुपर्नेमा अब भने आफूले कति दिन त्यस क्षेत्रमा बिताउन चाहेको वा बस्न चाहेको हो, सोही दिनअनुसार शुल्क तिरे पुग्ने उनले बताए । अध्यागमन विभागबाट अनुमति लिएपछि आउने पर्यटकको मुस्ताङको कागबेनीस्थित आयोजनाको चेकपोस्ट र केही माथि रहेको पर्यटक प्रहरीले चेकजाँच गर्ने गरेको तिरुवाले जानकारी दिए । यसअघि १० दिनको अनुमति पाए पनि जाने विदेशीले सरदर ६ देखि ७ दिन त्यस क्षेत्रमा बिताउने गरेको उनले बताए । मुस्ताङको कागबेनी र मुक्तिनाथसम्म जाने विदेशीले भने एकमुस्ट तीन हजार शुल्क तिर्नुपर्ने र त्यसभन्दा माथि जानका लागि मात्र अनुमति लिएर तोकिएको शुल्क तिर्ने व्यवस्था रहेको छ । माथिल्लो मुस्ताङ नेपाल–चीनको उत्तरी सिमाना कोरला नाकासँग जोडिएको छ । माथिल्लो मुस्ताङ जाने अधिकांश स्वदेशीसँगै विदेशी कोरला नाकासम्म जाने गरेका छन् ।
मुस्ताङ जाने विदेशीमध्ये सबैभन्दा धेरै फ्रान्सका रहेका छन् । फ्रान्सपछि अमेरिका, इटाली, जर्मनी, रसिया, बेलायत, चीन, पोल्यान्डका नागरिक यो क्षेत्रमा धेरै जाने गरेको उनले जानकारी दिए । विदेशीमध्ये अधिकांश घुम्न जाने र केही अध्ययन एवं अनुसन्धान र केही धार्मिक पर्यटक रहने गरेको उनले बताए । घुम्न जानेहरूले सरदर पाँचदेखि सात दिन बिताउने गरेसँगै अध्ययन एवं अनुसन्धान र धार्मिक पर्यटकले भने दुई–तीन महिनासम्म त्यस क्षेत्रमा बिताउने गरेका छन् । त्यस क्षेत्रका पर्यटन व्यवसायी एवं स्थानीयले जाने विदेशीसँग लिने शुल्क धेरै भएको भन्दै यसअघि पटक–पटक आवाज उठाउँदै आएका थिए ।