साताको तेस्रो कारोबार दिन पनि नेप्से परिसूचक उकालो लागेको छ। नेप्से ५.३२ अंक (०.२० प्रतिशत)ले बढेर दुई हजार ६५५.९९ विन्दुमा कायम भएको हो। यसअघि नेप्से आइतबार करिब ४० र सोमबार ५० अंकले वृद्धि भएको थियो।
मंगलबार ३१९ कम्पनीका एक करोड १९ लाख ७६ हजार कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दुई दिनको तुलनामा आज कारोबार रकममा भने गिरावट आएको छ। आइतबार ६ अर्ब १९ करोड तथा सोमबार झन्डै सात अर्बको कारोबार भएको थियो।
नेप्सेका १३ समूहमध्ये आज विकास बैंक, जीवन बिमा, म्युचल फन्ड र व्यापार समूहबाहेक सबै समूह उकालो लागेका छन्। व्यापार समूह सर्वाधिक १.३३ प्रतिशतले गिरावट हुँदा होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूह एक प्रतिशतभन्दा धेरैले वृद्धि भएका छन्।
बजार बढ्दा आज झापा इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सागर डिस्टिलरी र श्रीनगर एग्रिटेक झन्डै १० प्रतिशत तथा स्वस्तिक लघुवित्त आठ प्रतिशतले वृद्धि भएको छ।
सर्वाधिक गिरावट देखिएको जोशी हाइड्रो विकास कम्पनी र सुपरमाई हाइड्रोका लगानीकर्ताले भने क्रमशः चार र तीन प्रतिशतभन्दा धेरै गुमाएका छन्।