धनकुटामा तीन हजारभन्दा बढीले मतदाता नामावलीका लागि नयाँ निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगले आह्वान गरेसँगै देशभर नयाँ मतदाता नामावलीको लागि निवेदन दिएका छन् । जिल्ला निर्वाचन कार्यालय धनकुटामा तीन हजार २७२ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । तीमध्ये एक हजार ९८६ जनाले राष्ट्रिय परिचयपत्रमार्फत नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका निमित्त निर्वाचन अधिकारी सुरज श्रेष्ठले बताए ।
अनलाइनमार्फत नामावली दर्ता गर्नेहरूको रुजु गर्ने काम अहिले धमाधम चलिरहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेसँगै असोज १० गतेबाट मतदाता नामावली संकलन सुरु गरेको थियो । उक्त निर्धारित अवधि म्याद थपसँगै मंसिर ५ गते सकिएको छ।
अहिले जिल्लाबाहिरबाट नाम दर्ता गराएका, दोहोरो नामावली दर्ता भएका, मृत्यु भएका र बसाइँ सरेर गएकाहरूको नाम सच्याउने काम गरिरहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । नयाँ नामावली दर्ता गर्नेहरूमा सबैभन्दा बढी जेन–जी पुस्ताका रहेका छन् । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यतालिकाअनुसार पुस १५ गते अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ । सोही तालिकाअनुसार धनकुटाको कुल मतदाताहरूको संख्या पनि आउने जिल्ला निर्वाचन कार्यालय धनकुटाका निमित्त निर्वाचन अधिकारी श्रेष्ठले बताए ।