नेपाल वायुसेवा निगमले इजरायलमा मर्मत गरिएको इन्जिन तत्काल ल्याउने गरी प्रक्रिया अघि बढाएको छ । निगम महाप्रबन्धकको जिम्मा पाएका सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठले मर्मतका लागि पठाइएको इन्जिन तत्काल ल्याउन कर्मचारीलाई निर्देशन दिएका हुन् ।
मन्त्रिपरिषद्को २ मंसिरको बैठकले ‘हाल भइरहेको छनोट प्रक्रियाबाट नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्ति नभएसम्मका लागि सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत गर्ने गरी कार्यकारी सञ्चालकका रूपमा नियुक्त गर्ने’ निर्णय गरेको थियो । श्रेष्ठले बिहीबार कार्यकारी सञ्चालकका रूपमा पदबहाली गर्दै निगमको हितमा लाग्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिए ।
पदबहालीपछि कार्यकारी समितिको बैठक बोलाई निगमको समग्र विषयको जानकारी लिएको निगमले जनाएको छ । निगमको बैठकलाई सम्बोधन गर्दै कार्यकारी सञ्चालक श्रेष्ठले इजरायलको आइएआईमा मर्मतका लागि पठाइएको निगमको इन्जिन आफ्नो जहाजमा जडान गरी लिजमा लिएको इन्जिन फिर्ता गर्ने कार्य तत्कालै टुंग्याउने गरी कार्य आरम्भ गरिसकेको बताए ।