नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ । यससँगै अब काठमाडौं उपत्यकाका १३ शाखामा यो सेवा उपलब्ध हुने बैंकले जनाएको छ । यसअघि उक्त सेवा केन्द्रीय कार्यालय, तीनधारामा मात्रै थियो ।

बैंकबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी, ग्राहकमैत्री र डिजिटल रूपमा अगाडि बढाउने उद्देश्यले अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार गर्न लागिएको बैंकले जनाएको छ । व्यस्त पेसाकर्मी, व्यवसायी तथा समयको अभाव हुने ग्राहकलाई सहज रूपमा छिटो सेवा दिने उद्देश्यले सेवा विस्तार गर्न लागिएको बैंकको भनाइ छ । 

बैंकका अनुसार हाल यो सेवा कौशलटार, बौद्ध, नयाँबानेश्वर, मैतिदेवी, काँडाघारी, बिजुलीबजार, तीनधारा, ललितपुर, घण्टाघर, कुमारीपाटी, महाराजगन्ज, न्युरोड र त्रिपुरेश्वरस्थित बैंकका शाखा कार्यालयमा उपलब्ध हुनेछ । यसमार्फत ग्राहकले नगद तथा चेकको कारोबार लाइनमा नबसी छिटो र छरितो रूपमा गर्न पाउनेछन् । डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै बैंकिङ अभ्यासलाई छिटो र छरितो बनाउन अपोइन्टमेन्ट बैंकिङ सेवाले सहयोग गर्ने बैंकको भनाइ छ । ग्राहकले नबिल बैंकको वेबसाइट वा एनबैंक एपमार्फत सहजै अपोइन्टमेन्ट लिन सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले उक्त सेवा विस्तारसँगै ग्राहक र बैंकबिचको सम्बन्ध अझ सुमधुर हुनेमा विश्वास व्यक्त गरे । ‘अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तारले ग्राहकलाई आफ्नो अनुकूल समयमा सहज सेवा लिन सहयोग पुग्नेछ,’ उनले भने । 

सुझावित समाचार