कृषकले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले पर्याप्त मात्रामा धान खरिद नगर्दा बाँकेका किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । कम्पनीले गत वर्षको भन्दा थोरै धान खरिद गर्ने भएपछि यहाँका किसानले व्यापारीसँग सस्तोमा धान बिक्री गर्न बाध्य भएका हुन् ।
गत वर्ष ५५ हजार क्विन्टल धान खरिद गर्ने जिम्मा पाएको कम्पनीले ३२ हजार क्विन्टल धान खरिद गरेको थियो । यस वर्ष २० हजार क्विन्टल मात्र खरिद गर्ने कोटा पाएको कम्पनीका नेपालगन्ज प्रमुख रामशरण लामिछानेले बताए । ‘बिक्री नभएर कम्पनीको नेपालगन्ज कार्यालयमा २२ हजार क्विन्टल चामल थन्किएको छ । त्यही भएर गत वर्षभन्दा कम खरिद गर्न परेको हो,’ उनले भने ।
उनले पहाडी तथा हिमाली जिल्लामा मसिना जिरा, मन्सुलीलगायत चामलको माग बढेकोले मोटा र मध्यम चामलको माग घटेको बताए । ‘व्यापारीले भारतबाट चामल आयात गर्न थाले । सर्वसाधारणले पनि भारतीय बजारबाट चामल किनेर खान थालेपछि कम्पनीको चामल बिक्रीमा समस्या थपिएको हो,’ उनले भने, ‘विगत दुई वर्षको तुलनामा गत वर्ष चामलको माग घटेको छ ।’
कम्पनीले २४ कात्तिकबाट धान खरिद गर्न थालेको छ । सरकारले मोटो धान तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धान तीन हजार ६२८ रुपैयाँ ३३ पैसा मूल्य निर्धारण गरेको उनले बताए । तर, बाँकेका व्यापारीले दुई हजार चार सयदेखि दुई हजार ६ सय रुपैयाँमा धान गर्दै आएका छन् । धानको गुणस्तरीयता हेरेर धान खरिद गर्दै आएको नेपालगन्ज उपमहानगरपालिका– २२ स्थित साहु राइस मिलका सञ्चालक जहवारलाल साहूले बताए ।
उनले धानको गुणस्तरीयता हेरेर कम्तीमा २४–२६ सयमा धान खरिद गरिरहेको बताए । धान र चामल बिक्री हुन छाडेपछि धान खरिद गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘पहिले–पहिले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा धान र चामल जान्थ्यो, तर ती जिल्लाका व्यापारीले सिधै भारतबाट चामल आयात गरेर लैजान्छन्,’ उनले भने, ‘गत वर्ष महँगोमा किनेको १२ हजार क्विन्टल धान र दुई हजार क्विन्टल चामल मौज्दात छ । धान र चामल बिक्री नभएकोले यस वर्ष धान खरिद गर्ने अवस्था छैन । तैपनि किसानको करकापमा धान खरिद गरिरहेका छौँ ।’ नेपालगन्जका व्यापारी महेश साहूले पनि सरकारले तोकेको मूल्यमा धान खरिद गर्न नसकेको बताए ।