उपेन्द्र उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ को डिरेक्टर कट भर्सन हेरियो । सुदूरपूर्वका मोहक दृश्यले मन जित्यो । अभिनय सबै कलाकारको बुलन्द लाग्यो । महिला पात्र मुखर देखिएकाले अझै सुन्दर लाग्यो । च्याब्रुङ चेपुवामा परेको छ । जब च्याब्रुङको ताल हराउँछ, तब गाउँको ताल बिग्रिएको छ । च्याबु्रङसँग आदिवासी लिम्बूको जीवन कसरी गाँसिएको छ भन्ने फिल्मले सुन्दर ढंगले देखाएको छ । कवि निर्देशित फिल्म भएर होला कतिपय दृश्यले बोल्ने बिम्ब अद्भूत नै लाग्यो ।
मुख्य पात्र नाम्साङको हातबाट च्याब्रुङ खोसेर जब आर्मीले फुटाइदिन्छ, तब फिल्मको लय उकालो लाग्छ । लयसँगै दर्शकहरू यात्रा गर्छन् । कथित आधुनिकताले निल्दै लगेको आदिवासी संस्कृति जब पर्दामा देखिन्छ, नोस्टाल्जिक भइन्छ । त्यो गाउँघर, त्यो डाँडाकाँडा, त्यो अग्र्यानिक जीवनले हामीलाई विगतमा पुर्याउँछ । सहरमा दौडिहिँड्नेलाई गाउँघरमा लैजान्छ । परदेशमा हुनेलाई गाउँ गइहालौँ लाग्ने बनाउँछ । फिल्म हेर्दाहेर्दै दर्शकले आफूलाई पर्दामा पाउँछ । यदि मिल्दो हो त हरेक दर्शकलाई फिल्मको दृश्यमा घुसेर मंगलसिंह, नाम्साङ, हाङ्मासँग बोल्न मन लाग्छ । भनिन्छ, फिल्मको वास्तविक पात्रहरू दर्शकहरू नै हुन् । एक हदसम्म ‘जारी २’ यसमा सफल देखिन्छ ।
यदि हुँदाहुँदै पनि फिल्म चुकेको केही पक्षबारे भने चर्चा गर्नैपर्छ । कमजोरी नदेख्नु, नदेखेजस्तो गर्नु भनेको भिरमा गएको गाडीलाई ‘बाटो ठिक छ, अघि बढाऊ’ भन्नुजस्तै हो । फिल्मको सबैभन्दा ठुलो गल्ती फरक क्षमताका व्यक्तिलाई हसिमजाकको पात्र बनाउनु हो । फिल्ममा ‘मसला’का रूपमा दृष्टि कमजोर हुने व्यक्तिलाई उभ्याइएको छ । यो सिनेमाको सबैभन्दा दु:खान्त पक्ष हो ।
अर्को पक्ष फिल्मलाई मनोरञ्जक बनाउन मंगलसिंह (विजय बराल)को भूमिकालाई ह्वात्तै तन्काउनु हो । मंगलसिंहको कथा मूलकथाको मर्मसँग खासै जोडिएको देखिन्न । बुद्धि तामाङजस्ता अनुभवी कलाकारलाई उस्सै जोडेको महसुस हुन्छ । जनयुद्धका दृश्य अझै कन्भिन्सिङ देखिन्न । पत्रकारितामा एउटा भनाइ छ, ‘स्टोरी नपाए रत्नपार्क जानू ।’ निर्देशकका लागि जनयुद्ध त्यस्तै विषय बनेको छ ।
सिक्वेलले डुबाउँछ कि उतार्छ ?
यो अनुभूति लेख्नुको मुख्य जोड स्विक्वेलबारे रहेको छ । नेपाली फिल्म जगत् अघिल्लो फिल्म हिट भएपछि अर्को भाग बनाइहाल्ने महारोगबाट ग्रसित छ । अरू सिक्वेलजस्तै ‘जारी २’ को पनि मुख्य ध्यान अघिल्लो ‘जारी’को बोटमुनि अर्को रुख रोपेर पैसा बटुल्ने देखिन्छ । खासमा नेपालजस्तो सांस्कृतिक विविधतामा सम्पन्न देशका कथा दृश्यमा दस्ताबेजीकरण हुनुपर्थ्यो । यो त केवल कमाउकरण पो भयो । खासमा ‘खोलाको गीत’, ‘लाटोपहाड’ लेख्ने सर्जकबाट यस्तो अपेक्षा धेरैले गरेका थिएनन् ।
सिक्वेल बनाउनै हुन्न भन्ने होइन, अघिल्लो फिल्ममा कथा सबै समेटिएनन् भने त्यसको अर्को भाग बनाउनु उपयुक्त नै होला । ‘जारी २’ मा यस्तै अपेक्षा गरिएको थियो । तर, निर्देशकले निराश बनाए । आफ्नो कुनै रचना पाठक/दर्शकले रुचाएपछि सर्जकको चिन्ता हुन्छ, त्योभन्दा राम्रो कसरी लेख्ने, कसरी निर्माण गर्ने ? तर, सिनेमा जगत्मा ठिक पो उल्टो देखिन्छ । अघिल्लो सिनेमा हिट भयो भने अर्को राम्रो बनाउनेतिर होइन, त्यही हिट सिनेमाको बैसाखी टेकेर अझै कमाउनेतिर लाग्ने । यसबाट नेपालका निर्देशक कति पैसामुखी छन्, सामाजिक उत्तरदायित्वबारे कति सजिलै आँखा चिम्लिदिन्छन् भन्ने प्रस्ट देखिन्छ । यो प्रश्न निर्देशक सुब्बालाई मात्रै होइन, समग्र सिक्वेल बनाउन तम्सिने निर्देशकलाई हो । कवि समूहमा एउटा चर्चित भनाइ छ, ‘जब सिर्जना रित्तिन्छ, तब कविले आफ्नै कविता चोर्न थाल्छ ।’ अघिल्लो सिनेमा ‘हिट’ भयो भन्दैमा त्यसलाई तन्काइरहनु भनेको आफ्नै सिर्जना चोरेजस्तै हो । सुब्बासँग कथाको खानी छ । उनले यसो नगर्नुपर्थ्यो ।
संसारमा राम्रा सिनेमाको सिक्वेल बनेको उदाहरण देखिन्न । ‘कास्ट अवे,’ ‘फरेस्ट गम’, ‘द पियानिस्ट,’ ‘लाइफ इज ब्युटिफुल,’ ‘सिन्डलर्स लिस्ट’जस्ता फिल्महरूको दोस्रो भाग बनेका छैनन् । नेपालमै ‘नुमाफुङ’को अर्को भाग बनेन । स्विक्वेल दुई कारणले बनेको देखिन्छ । पहिलो, देखाउनु पर्ने दृश्य अटेन भने । दोस्रो, पैसा धेरै बटुल्नुपर्यो भने । संसारमा पैसा बटुल्नकै लागि सिक्वेल बनाउनेको बिगबिगी छ । त्यस्ता फिल्मको धेरै भाग बनेका छन्, जसले समाजमा मनोरञ्जनबाहेक केही दिँदैन । उनीहरूको मिसन नै देखिन्छ, पैसा तिर, मनोरञ्जन किन । यदि नेपाली सिनेमेकर्सको पनि मुख्य उद्देश्य पैसा तिर, मनोरञ्जन किन भन्ने हो भने जति नै सिक्वेल बनाए पनि हुन्छ । तर, प्रश्न उठ्छ, पैसा कमाउने नाममा कुनै जातिको सांस्कृतिक पुँजीलाई पटक–पटक बजारको तराजुमा जोख्नु कति उपयुक्त हुन्छ ? अझ उपेन्द्र सुब्बाजस्ता जराको साहित्य लेख्ने मान्छेले हरेकपटक आफ्नो समुदायको सांस्कृतिक पुँजीलाई बजारको तुलोतराजुमा पेस गरिरहनु कति स्वाउँदिलो हुन्छ ?
स्विक्वेल बनिरह्यो भने पहिलो– सर्जकको सिर्जनात्मकता मर्छ । ऊ सर्जक होइन, कुनै फ्याक्ट्रीको माल उत्पादक बन्छ । दोस्रो– दर्शकमाथि आर्थिक, भावनात्मक शोषण हुन्छ । तेस्रो– कुनै जातिको संस्कृति ‘फिक्सनाइज’ गरेर बजारलाई नापतौल गर्न दिइरहँदा ‘ओरिजिनल भर्सन’ चाहिँ क्रमश: विलोप हुँदै जान सक्छ । यसले अन्तत: नेपालको सांस्कृतिक विविधतामा धमिरा लाग्न सुरु गर्छ । सिनेमा समाजको संस्कृति चपाउने धमिरा हुनै सक्दैन, सिनेमा समाजको त्यो आँखीझ्याल बनोस्, जहाँबाट नियाल्दा इतिहासका मोड र घुम्तीहरू जम्मै देखियोस् । त्यसैले समाजको हितका लागि सर्जककै हितका लागि पनि यस्ता सिक्वेललाई निरुत्साहित गर्नुपर्छ । समाजका अग्र्यानिक कथा अझै धेरै खोतल्नतिर नेपाली सिने क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ । बक्स अफिसको कलेक्सनलाई मुख्य मानक मान्ने, अनि ‘हिट’ सिनेमाको पैसामाथि टेकेर फेरि त्यसको सिक्वेलहरू बनाउने, दर्शकहरू हलमा गएर हाँस्ने, रुने, चिच्याउने, यो क्रम दोहोरिरहनु भनेको समाजमाथि गरिएको अघोषित अपराध हो । यो क्रमले नेपाली चलचित्रलाई फेरि अर्को दुर्घटनामा पुर्याउँछ ।
अब प्रश्न उठ्छ, त्यसो भए सिनेमेकरहरू सधैँ सबै गम्भीर हुनैपर्ने हो ? सिनेमा पैसाविना बन्दैन । सामाजिक उत्तरदायित्वले ग्यास्टिक पल्टिएको पेट भरिँदैन । यो अहं सवाल हो । कला साहित्यलाई हेर्ने विश्वदृष्टिकोणसँग यो सवाल जोडिएको छ । यदि तपाईं मुख्यत: सिनेमा पैसा कमाउनै बनाउने हो भन्ने विचार मान्नुहुन्छ भने तपाईं सर्जक होइन, कुनै फ्याक्ट्रीको मालिक हो । जसरी बजारको डिमान्डअनुसार साइज–साइजका कट्टुगन्जी उत्पादन गर्नुहुन्छ, हो तपाईं त्यस्तै एक कारखाना सञ्चालक हुनुहुन्छ । तपाईंका लागि यो अनुभूति बकवास हो । होइन, सिनेमा इतिहासको दस्ताबेज हो, सिनेमा समाजको अभिन्न अंग हो, यसको सामाजिक दायित्व हुन्छ, भन्ने मान्नुहुन्छ भने बहस गर्न सकिन्छ । सिनेक्षेत्र जग्गामा लगानी गरेजस्तो, ढुंगाखानीमा सेयर किनेजस्तो क्षेत्र होइन, विडम्बना यस्तै बनाइयो । पैसै कमाउन लगानी गर्ने निर्माताका कारण नेपाली सिनेक्षेत्र कुपोषणग्रस्त भएको हो । समाजमा केही भन्नु छैन, पैसै कमाउनु छ भने अरू पेसामा लागे हुन्छ । सिनेकर्मी पनि सुरुको कथा भन्ने वेला सर्जक नै रहन्छन्, जब त्यही कथालाई काँटीमा झुन्ड्याएर व्यापार गर्ने दोकान थापिन्छ, तब ऊभित्रको सर्जक ऊदेखि डराएर कुलेलम ठोक्न थाल्छ । ‘लुट’देखि ‘कबड्डी’ हुँदै ‘जारी’सम्म आइपुग्दा भएको यही हो ।
सबैभन्दा महत्वपूर्ण सवाल आत्मसम्मान हो । पैसाको मुख हेरेर कुनै जाति, समुदायको आत्मसम्मानमा ठेस पुग्ने काम गरिनुहुन्न । कुनै आदिवासीको सांस्कृतिक प्रतीकलाई लंगुरबुर्जामा दाम राखेजस्तो बजारवादको जुवाखालमा राख्नुहुन्न । ‘जारी २’ लगायत थोरै फिल्मले आत्मसम्मानमा ठेस पुर्याएको देखिन्न । यस अर्थमा यो सकारात्मक पक्ष हो । तर, बारम्बार कुनै आदिवासीको सांस्कृतिक प्रतीकलाई पैसा कमाउने टुल्स स्वयं त्यही जातिका सर्जकले गरिरहन्छन् भने त्यो अर्को किसिमको आत्मसम्मानको उल्लंघन मान्नुपर्ने हुन्छ ।
‘जारी २’ ‘माइतीघर’जस्ता फिल्मलाई हेर्न च्याब्रुङ र डम्फु बजाउँदै त्यही समुदायका मानिस धेरै जाने अनि फिल्म हेरिसकेर खिस्रिक्क परेर फर्किनुपर्ने क्रम दोहोरिरहनु साह्रै दु:खद पक्ष हो । जेम्स क्यामरुनले ‘अवतार’ बनाएर, नाम दाम कमाएर क्यानडाका आदिवासीको जीवनमा के फरक पार्यो ? शून्य, जिरो । बरु उल्टै आदिवासीको थिम खोसेर उसले कमायो । नेपालका आदिवासी मेकरले पनि क्यामरुनले जस्तै पैसै कमाउन सांस्कृतिक प्रतीक र विषयलाई लिएर भकाभक फिल्म बनाइरहने, आदिवासी आन्दोलन र जीवनमा शून्य प्रभाव पार्यो भने योजत्तिको बेकामे काम अरू हुनै सक्दैन ।
त्यसैले, यदि च्याब्रुङलाई देखाएर, डम्फु, धिमे, सारंगीलाई देखाएर पैसै कमाउने ध्याउन्नमा एउटै कथालाई पटक–पटक तन्काइरहने, विषयको गइराइमा नपुगी फिल्म बनाइरहने हो भने अब च्याब्रुङ सेना र माओवादीले होइन, स्वयं सर्जकले च्यातेको बुझ्नुपर्ने हुन्छ ।