मकवानपुर प्रहरीले पुजारीको हत्यामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले राक्सिराङ गाउँपालिका– १ को कोलेबरी टुंकीडाँडामा भएको गोलीकाण्डका मुख्य अभियुक्त इमानसिंह थोकरलाई पक्राउ गरेको हो ।
थिङले मकवानपुरको राक्सिराङ गाउँपालिका– १, कोलेबरी टुंकीडाँडास्थित कुलदेवी मन्दिरका पुजारी ६४ वर्षीय ठुले गोलेको शुक्रबार बिहान गोली हानी हत्या गरेका थिए ।
घटनापछि थिङ जंगलतर्फ भागेको र खोजतलासमा खटिएको प्रहरी गस्ती टोलीले घटनास्थलबाट करिब डेढ किलोमिटर पूर्वतर्फको घना जंगल क्षेत्रमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले जानकारी दिए ।
थिङको साथबाट एक थान कटुवा पेस्तोल, एक राउन्ड गोली, दुई थान खोका र करिब २१० ग्राम बारुदजस्तो पदार्थ बरामद गरिएको कुर्मीले बताए । बरामद हतियार पुरानो र पुनः प्रयोग क्षमतामा कमजोरी रहेको प्रारम्भिक अध्ययनले देखाएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कुर्मीको भनाइ छ ।