इजरायलमा बनाउन लगेको इन्जिन ल्याएर जहाज चलाउन प्रधानमन्त्रीको निर्देशन

शुक्रबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगमको ए–३२० जहाजको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न निर्देशन दिएकी छिन् । निगम सञ्चालक समिति र व्यवस्थापन अधिकारीहरूलाई सिंहदरबार बोलाएर प्रधानमन्त्री कार्कीले आफ्नो इन्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन चलाउने प्रवृत्तिमाथि प्रश्न गरिन् ।

यस्ता बेथिति सहेर बस्न नसकिने उनले स्पष्ट पारिन् । ‘सञ्चालक समितिले निर्णय गरेर हुन्छ वा व्यवस्थापन तहबाटै काम हुन्छ, जसरी हुन्छ नतिजा दिनुपर्छ,’ उनले भनिन्, ‘कुनै प्रक्रियागत बहाना नगरौँ । जनताको पैसा लगानी भएको संस्थालाई ग्राउन्डेड गर्ने अवस्था आउन दिनुहँुदैन ।’ उनले देश जनता र संस्थाको पक्षमा निर्णय गर्दा नडराउन पनि उनले आग्रह गरिन् । उनले भनिन्, ‘मुद्दा लाग्ला कि भनेर असल काम गर्न डराउनुहुँदैन, गलत काम गर्न मात्र डराउनुहोस् ।’

यसैबिच सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरी प्रस्ताव आह्वान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक व्यक्तिलाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो । 

मन्त्रालयले यसमा विभिन्न मापदण्ड तथा योग्यता तोकेको छ । उम्मेदवार नेपाली नागरिक भएको हुनुपर्ने, ३० देखि ६५ वर्ष उमेर भएको र स्नातकोत्तर हासिल गरी नागरिक उड्ययन, पर्यटन व्यवस्थापन, अर्थशास्त्रसम्बन्धी क्षेत्रमा कम्तीमा १० वर्ष उच्चस्तरको व्यवस्थापकीय अनुभव भएको हुनुपर्नेछ । 

सुझावित समाचार