काठमाडौं/गत फागुनदेखि जारी अमेरिका–इरान युद्धले पेट्रोलियम पदार्थको भाउमा ठुलो दरले वृद्धि भएको छ । जसकारण खाद्यान्न, तरकारी, लत्ताकपडा, माछा–मासुलगायतको भाउ वृद्धि हुँदा सर्वसाधारणको दैनिकी नै अस्तव्यस्त बनेको छ ।
नेपाल आयल निगमको तथ्यांकअनुसार गत वर्षको दसैँअघि र अहिलेको मूल्य तुलना गर्दा पेट्रोल ३९, डिजेल र मट्टीतेल समान ५५ तथा हवाई इन्धन १२२ रुपैयाँ प्रतिलिटर तथा ग्यास १५० रुपैयाँ प्रतिसिलिन्डर मूल्य बढेको छ ।
गत वर्ष ३० भदौमा तोकिएको मूल्य दसैँअघिसम्म लागू भएको थियो । त्यतिखेर निर्धारित मूल्यअनुसार पेट्रोल १६१, डिजेल र मट्टीतेल समान १४५ तथा हवाई इन्धन १२७ रुपैयाँ प्रतिलिटर र एलपी ग्यास १९ सय १० रुपैयाँ प्रतिसिलिन्डर थियो ।
अहिले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ समान २ सय र हवाई इन्धन २४९ रुपैयाँ प्रतिलिटर तथा ग्यास २ हजार ६० प्रतिसिलिन्डर निर्धारण भएको छ ।
आयल निगमका प्रवक्ता मनोज ठाकुरले अन्तर्राष्ट्रिय बजारभाउले नेपालमा मूल्य समायोजन गर्दा असर परेको बताए । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र त्यसको प्रशोधन शुल्कमा ठुलो दरले वृद्धि भइरहेको छ । जसको असर नेपालमा पनि परेको हो,’ उनले भने, ‘तर, दुई महिनायता हामीले उपभोक्तालाई राहत दिन अन्तर्राष्ट्रिय बजार भाउअनुसार नेपालमा मूल्य समायोजन नगरी नियन्त्रण गरेका छौँ ।’
निगमले अन्तर्राष्ट्रिय बजार भाउअनुसार मूल्य समायोजन नगरी चालू आव ०८३–८४ को असोज मसान्तसम्म साढे ६ अर्ब नोक्सान बेहोरेको उनले जानकारी दिए । ‘मूल्यवृद्धिबाट राहत दिनका लागि निगमले तीन महिनामा ६ अर्ब ६६ करोड नोक्सान बेहोरेर पेट्रोलियम पदार्थको मूल्य स्थिर राखेको छ,’ ठाकुरले भने ।