काठमाडौं/ थाइल्यान्डको विद्यमान भिसा प्रक्रियाका कारण नेपाली यात्रु तथा ट्राभल व्यवसायीले आर्थिक जोखिम र झन्झट व्यहोर्नुपरेको भन्दै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)ले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । नाटाले समस्या समाधान नभए थाइल्यान्डकेन्द्रित पर्यटन गतिविधि स्थगित गर्ने चेतावनीसमेत दिएको छ ।
थाइल्यान्डले पछिल्लो समयमा होटेल र टिकटको शतप्रतिशत रकम चुक्ता गरेको विवरणपछि मात्रै भिसा दिने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार ननरिफन्डेबल टिकट खरिद गरी होटेलसमेत बुक गरेर भिसा अप्लाई गरे पनि अस्वाभाविक रूपमा भिसा रिजेक्ट हुन थालेको नाटाका अधिकारीको भनाइ छ । यसले गर्दा यात्रु र व्यवसायी मर्कामा परेको उनीहरूले बताए ।
नाटाका महासविच राजकुमार देवकोटाद्वारा जारी विज्ञप्तिमा भिसा निर्णयमा हुने अत्यधिक ढिलाइ र भिसा स्वीकृत हुने निश्चितता नहुँदा नेपाली यात्रु तथा व्यवसायी प्रभावित भएको उल्लेख छ । भिसा स्वीकृत नहुँदै हवाई टिकट र होटेल बुकिङ गर्नुपर्ने बाध्यता रहेको तथा थाई एयरवेज र थाई लायन एयरलगायतका एयरलाइन्सका सस्तो भाडाका टिकट फिर्ता नहुने वा रद्द गर्दा उच्च शुल्क लाग्ने बताइएको छ ।
सबै कागजात प्रक्रिया पूरा गरेपछि पनि भिसा अस्वीकृत हुने वा निर्धारित यात्राको मिति नजिकिएपछि मात्रै निर्णय आउने अवस्थाले नेपाली यात्रु तथा व्यवसायीको लाखौँ अमेरिकी डलरबराबरको रकम जोखिममा परेको नाटाको दाबी छ । नाटाले नेपालको परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सम्बन्धित कूटनीतिक निकायलाई थाई सरकार तथा रोयल थाई दूतावाससँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी समस्या समाधानका लागि आग्रहसमेत गरेको छ ।