काठमाडौं/ अब सवारी दर्ता तथा नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालयमा उपस्थित हुनुनपर्ने भएको छ ।
पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित कार्यालयमा उपस्थित भएर दर्ता तथा नामसारीको काम गर्न सक्नेछ ।
यस्तै, संशोधनमार्फत डिलरबाट गरिएको सवारीसाधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ । पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने–नपर्ने मन्त्रालयको भनाइ छ ।
यस्तै, अब सवारीसाधनको बिमा वा बिमा नवीकरण गर्न सवारीधनी स्वयं उपस्थित हुनुपर्नेछैन । बायोमेट्रिकका लागि प्राविधिक पहुँच पनि सहज गरिएको छ ।
‘सवारीसाधन नामसारी गर्दा बायोमेट्रिक विवरण लिन सकिने गरी यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउनेछ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
उल्लिखित संशोधनले सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सरल, सहज र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ ।