सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले आचार्यलाई सिइओ नियुक्त गरेको हो । उनको कार्यकाल भने आगामी १२ माघदेखि लागू हुनेछ । नवनियुक्त सिइओ आचार्यसँग बैंकिङ क्षेत्रमा २१ वर्ष लामोे अनुभव छ ।
हाल उनी यही बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छन् । कर्जा मूल्यांकन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा आचार्यको विज्ञता छ । साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा सञ्चालक समितिका अध्यक्षसमेत हुन् ।
आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र एमएनआइटी, जयपुरबाट इन्जिनियरिङमा स्नातक गरेका छन् । उनको कार्यकालमा बैंक थप सफलताको उचाइमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।