मतदाता नामावली दर्तामा देखिएका कठिनाइबारे प्रधानमन्त्रीको चासो, आयोग र गृह मन्त्रालयलाई पत्राचार

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

मतदाता नामावली दर्तामा देखिएका कठिनाइबारे प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छिन्।

प्रधानमन्त्रीको निर्देशनपछि प्रधानमन्त्री कार्यालयले सहजीकरण गर्न निर्वाचन आयोग र गृह मन्त्रालयलाई पत्राचार गरेको छ। मतदाता नामावली दर्ता प्रक्रियालाई पत्रमा उल्लेख भएबमोजिम आवश्यक सहजीकरण गरिदिने व्यवस्थाका लागि अनुरोध गरिएको छ।

यस्तो छ पत्रको व्यहोरा :
प्रस्तुत विषयमा २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मिति २०८२ कार्तिक ३० गते रहेको र मतदाता नामावली दर्ता कार्यमा जनशक्ति व्यवस्थापनका कारण दर्ता गर्न आउने सेवाग्राहीले लामो समय कुर्नु परेको, प्रि–इनरोलमेण्ट फारममा मतदान केन्द्र छनोट गर्न नसकेको, नागरिकता नम्बर प्रविष्ट गरे पनि नामावली दर्ता गर्न प्राविधिक समस्या आउने गरेको, जेन-जी आन्दोलनका शहिद तथा घाइते परिवार र अशक्त व्यक्तिहरुलाई दर्ता गराउन असहज भएको जस्ता गुनासो आइरहेको अवस्था छ।

उल्लिखित परिप्रेक्ष्यमा निर्वाचनका लागि मतदाता नामावली दर्ता कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन तपसिल बमोजिम गरिदिने व्यवस्थाका लागि आदेशानुसार अनुरोध छ।

१. निर्वाचन कार्यालयहरुमा बढिरहेको कार्यचाप अनुरून आवश्यकता अनुसार कार्यसमय/सिफ्ट बढाई मतदाता नामावली दर्ता प्रक्रियालाई थप सहज बनाउनु हुनका साथै यसका लागि थप कर्मचारी परिचालन गर्न आवश्यक भएमा सम्बन्धित निकायमा पत्राचार गर्ने।

२. मतदाता नामावली दर्ता कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा रहेको तथ्यांकलाई मतदाता नामावली दर्ताका लागि प्रयोग गर्न मिल्ने गरी आवश्यक प्राविधिक एवम् कानुनी प्रक्रिया अगाडि बढाउने।

३. हाल सञ्चालनमा रहेको मतदाता नामावली संकलन कार्य तोकिएको म्यादभित्र सम्पन्न गर्न नसकिने अवस्था देखिएमा मतदाता नामावली संकलनको म्याद ( २०८२ कार्तिक ३०)लाई पुनरावलोकन गर्ने।

सुझावित समाचार