उदयपुरका आठवटै पालिकामा आइतबारदेखि गोरु, गाई, भैँसीमा लाग्ने खोरेत रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ।
भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख सुकराज लिम्बूका अनुसार पशुपालन र दुध उत्पादनमा कृषकलाई व्यावसायिक बनाउन र कृषकलाई दुध उत्पादनको माध्यमबाट आत्मनिर्भर बनाउन खोरेत रोगविरुद्धको खोप लगाउन सुरु गरिएको हो।
लिम्बूका अनुसार जिल्लाको बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका तथा ताप्ली, लिम्चुङबुङ, रौतामाई र उदयपुरगढी गाउँपालिकामा एकसाथ खोप लगाउन सुरु गरिएको छ। उनका अनुसार ८६ हजार ९६४ गाईगोरु र ३९ हजार ४०३ राँगाभैँसीमा खोप लगाइनेछ।
उदयपुरमा अहिले दुई लाख चार हजार डोज खोरेतविरुद्धको भ्याक्सिन ल्याइएको भए पनि पहिलो चरणअन्तर्गत बेलकामा १७ हजार, चौदण्डीगढीमा १५ हजार, त्रियुगामा २१ हजार र कटारीमा १५ हजार, ताप्लीमा १० हजार पाँच सय, लिम्चुङबुङमा आठ हजार, रौतामाईमा १० हजार पाँच सय र उदयपुरगढीमा पाँच हजार गरी कुल एक लाख दुई हजार डोज खोज लगाइनेछ।
बाँकी रहेको एक लाख दुई हजार डोज खोप भने आगामी वैशाख महिनामा पुनः लगाइने लिम्बूले बताए। उनले भने, ‘उदयपुरमा रहेका कुल गाई, गोरु, राँगा र भैँसीमध्ये ८० प्रतिशतलाई यो भ्याक्सिन लगाइनेछ।’
पशुमा खोरेत रोग लागेपछि अत्यन्तै छिटो फैलन्छ। पशुहरूमा अत्यधिक मात्रामा ज्वरो आउने, र्याल काढ्ने, दुध उत्पादन घटाउने, हिँड्डुल गर्न गाह्रो हुने, खोच्याउनेजस्ता लक्षणहरू देखापर्छन्।