आवश्यक कागजात लिएर आज निर्वाचन आयोग जाँदै प्रचण्ड नेतृत्वको नेकपा

आइतबार, २४ कार्तिक, २०८२
डिजिटल संस्करण

१० दल–समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दल दर्ताका लागि आवश्यक कागजात लिएर आइतबार निर्वाचन आयोग जाने भएको छ । नेकपाले एकता राष्ट्रिय सम्मेलनकै दिन गत बुधबार आयोगमा नाम र चुनाव चिह्नसहित ठाडो निवेदन दिएको थियो ।

एकतामा संलग्न पार्टीहरूले निर्वाचन आयोगबाट प्राप्त गरेको प्रमाणपत्र, माइन्युट लगायतसहित नयाँ पार्टीको विधान र घोषणापत्रसहित आइतबार आयोगमा जाने नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले बताए । ‘हामीले एकताकै दिन ठाडो निवेदन दिएका थियौँ । थप कागजातसहित हामी आइतबार आयोग जाँदै छौँ,’ उनले भने । नेताहरूका अनुसार केन्द्रीय सदस्य टुंग्याउन बाँकी छ । आइतबारसम्म विधानलाई अन्तिम रूप दिने तयारी छ । नेताहरूका अनुसार कार्यदलको बैठक आइतबार बिहान बस्दै छ । 

माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चाले एकता गरेका छन् । एकीकृत पार्टीको नाम नेकपा र चुनाव चिह्न तारा छ । 

आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार बुधबार साँझ आयोगमा निवेदन आएको र थप कागजात आउन बाँकी रहेको बताए ।

‘नेपाली कम्युनिस्ट पार्टीको निवेदन र सम्झौतापत्र आएको छ,’ कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख भट्टराईले भने, ‘विधान र अन्य कागजात आउन बाँकी छ ।’

See More On

सुझावित समाचार