कैलाश गाउँपालिकामा घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण

शुक्रबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

मकवानपुरको विकट क्षेत्र मानिने कैलाश गाउँपालिकामा बैंकिङ घुम्ती शिविरमार्फत ५३४ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। गाउँपालिकाको माथिल्लो भेगका वडा नम्बर १, २, ५, ६, ९ र १० मा पहिलो त्रैमासिक भत्ता वितरणका लागि बैंकिङ घुम्ती शिविर सञ्चालन गरिएको अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए।

उनका अनुसार ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई आवतजावतमा समस्या पर्ने भएकाले गाउँमै घुम्ती शिविर सञ्चालन गरिएको हो। ‘कठिन भौगोलिक अवस्थाका कारण बैंकसम्म पुग्दा खर्चिलो र कठिन हुन्छ। त्यसैले लाभग्राहीलाई सहज बनाउन बैंकसँगको सहकार्यमा वडा–वडाबाटै भत्ता वितरण गरेका हौँ,’ उनले भने।

सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख अशोक स्याङ्तानका अनुसार घुम्ती शिविरमार्फत कुल ५३४ जनाले सेवा लिएका छन्। वडा नम्बर १ मा १०५ जना, वडा २ मा ११८ जना, वडा ५ मा १५६ जना, वडा ६ मा १०८ जना, वडा ९ मा ३४ जना र वडा १० मा १३ लाभग्राहीले भत्ता प्राप्त गरेका उनले बताए।

गाउँपालिकाबाट चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा दुई हजार आठजनाको सामाजिक सुरक्षा भत्ता निकासा गरिएको छ। तीमध्ये हालसम्म ५३४ जनाले घुम्ती शिविरमार्फत र एक हजार ३९ जनाले बैंकबाट सेवा लिएका छन्। बाँकी ४३४ जनाले भत्ता लिन बाँकी रहेको शाखा प्रमुख स्याङ्तानले जानकारी दिए।

सुझावित समाचार