अर्को वर्ष मात्र ‘ए’ डिभिजन लिग

मंगलबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण
  • एन्फाले तीन वर्षदेखि आयोजना गर्न नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिग १४ क्लबसँगको सहमतिपछि ०८३ पुसमा गरिने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग १४ महिनापछि मात्रै गर्ने भएको छ । एन्फाका पदाधकारी र १४ क्लबका पदाधिकारीबिच सोमबार भएको बैठकले ०८३ पुसमा ‘ए’ डिभिजन लिग गर्ने निर्णय भएको हो । एन्फाले लिगका लागि तालिकासमेत प्रकासन गरेको छ । ‘ए’ डिभिजन लिग होम एन्ड अवे प्रणालीअनुसार हुनेछ,’ एन्फाका प्रवक्ता सुरेश शाहले भने ‘लिगमा आबद्ध १४ क्लबका पदाधिकारी पनि एन्फाको निर्णयमा सहमत भएका छन् ।’

पंकजविक्रम नेम्वाङ एन्फाको अध्यक्ष भएयता ‘ए’ डिभिजन लिग एकपटक मात्र भएको छ । ०७९/८० को सिजनमा नेम्वाङले लिग आयोजना गरेका थिए । त्यसपछि क्लबका पदाधिकारीसँग सहमति जुटाउन नसक्दा एन्फाले लिग गर्न अमसर्थ हुँदै आएको छ । एन्फाले आगामी २९ मंसिरमा लिगसम्बन्धी नियमावली प्रकाशन गर्नेछ । १४ क्लबले माघदेखि चैतसम्म होम ग्राउन्ड चयन गर्नेछ । उनीहरूले चैत मसान्तसम्ममा कागजी प्रक्रिया पूरा गर्नुपर्नेछ । 

एन्फाले ०८३ को ३ जेठमा लिगका लागि क्लबहरूलाई पत्राचार गर्नेछ । ३ साउनमा सहभागी क्लबले ‘ए’ डिभिजन लिगमा सहभागिता जनाउन टोलीको नाम दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ । ५ साउनमा सहभागी क्लबहरूको होमग्राउन्ड निरीक्षण गर्ने र ३ भदौमा आवश्यक जनशक्तिका लागि प्रशिक्षण गर्ने एन्फाका प्रवक्ता शाहले बताए । 

क्लबहरूले एन्फामा अर्को वर्षको १ मंसिरदेखि खेलाडी दर्ता प्रक्रिया थाल्ने उनले बताए । ३ मंसिरदेखि २ पुससम्म प्रिसिजनका प्रतियोगिता सञ्चालन गर्नेछ । एक वर्षको अवधिमा एन्फा र क्लबले सबै प्रक्रिया पूरा गरेपछि मात्र ०८३ को पुस ३ मा ‘ए’ डिभिजन लिगको खेल तालिका प्रकाशन हुनेछ । 

सुझावित समाचार