एन्फा र ‘ए’ डिभिजन क्लबबिचको बैठक आज

खेलकुदमन्त्री बब्लु गुप्ताले तीन वर्षदेखि हुन नसकेको ‘ए’ डिभिजन लिगबारे चासो देखाएपछि एन्फा र १४ क्लबका पदाधिकारीबिच सोमबार बैठक बस्न लागेको हो

सोमबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाका सम्बन्धमा १४ क्लबका प्रतिनिधिसँग छलफल गर्न बैठक बोलाएको छ । एन्फाले सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा क्लबका पदाधिकारीलाई अनिवार्य उपस्थित हुन भनेको छ । गत शुक्रबार नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्ताले फुटबलको पछिल्लो अवस्थाबारे चासो राख्दै ‘ए’ डिभिजन लिग नहुनुको कारण एन्फा महासचिव किरण राईलाई सोधेका थिए । 

मन्त्री गुप्ताले सिंहदरबारस्थित मन्त्रालयमै एन्फा र शीर्ष डिभिजन क्लबसँग छुट्टाछुट्टै बैठक गरेका थिए । मन्त्रीसँगको बैठकपछि एन्फा महासचिव राईले ‘ए’ डिभिजन लिगमा आबद्ध १४ क्लबका पदाधिकारीसँग छलफल गर्ने बताए । राईले ५० दिनभित्र शीर्ष डिभिजन लिग सुरु गर्ने विषयमा छलफल भएको मन्त्रीलाई जानकारी गराएका थिए ।

एन्फाले आगामी वर्षको २६ असारसम्म सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाको प्रस्ताव राखेको थियो । त्यसपछि २६ असोजमा एन्फाले क्लबहरूलाई राष्ट्रिय लिगको प्रस्ताव राख्यो । एन्फाको पछिल्लो बैठकले तयारी नपुगेका कारण ‘ए’ डिभिजन लिग गर्न नसकिने र राष्ट्रिय लिगको प्रस्ताव राखेको हो । एन्फाले तीन सातापछि पुनः बैठक बोलाएको हो । एन्फाको गत २६ वैशाखमा काभ्रेको धुलिखेलमा भएको वार्षिक साधारणसभामामा ‘ए’ डिभिजन लिग १ पुस देखि ०८३ जेठ ३१ सम्म हुने गरी क्यालेन्डर सार्वजनिक गरेको थियो । 

 मुख्य प्रशिक्षक खड्काको प्रारम्भिक लिस्टमा ३५ खेलाडी
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले मलेसिया र बंगलादेशविरुद्धको खेलका लागि प्रारम्भिक टोलीमा ३५ खेलाडी समावेश गरेका छन् । खड्काले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल र एएएफसी एसियन कप छनोट खेल्न आइतबार प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

गत बुधबार मुख्य प्रशिक्षक म्याट रोसले पदबाट राजीनामा दिएपछि एन्फाले १४ कात्तिकमा खड्कालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । राष्ट्रिय टोलीका पूर्वकप्तान तथा स्ट्राइकर खड्काको पहिलो प्रशिक्षणमा नेपालले २७ कात्तिकमा बंगलादेशविरुद्ध फिफा विन्डोमा अन्तर्राष्ट्रिय खेल खेल्नेछ । यस दिन बंगलादेशले अफगानिस्तानसँग खेल्ने तय थियो । तर, अफगानिस्तानले भ्रमण रद्द गरेपछि बंगलादेशले नेपालसँग प्रतिस्पर्धा गर्न लागेको हो । त्यसपछि नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत २ मंसिरमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । 

सुझावित समाचार