बन्चरेडाँडा क्षेत्रका बासिन्दाको माग उपत्यकाभित्रै फोहोर व्यवस्थापन गरियोस्

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण
बन्चरेडाँडा क्षेत्रका बासिन्दाको माग उपत्यकाभित्रै फोहोर व्यवस्थापन गरियोस्

फाइल तस्बिर : नयाँ पत्रिका

काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिने नुवाकोटको बन्चरेडाँडाका बासिन्दाले उपत्यकाको फोहोर उपत्यकाभित्रै व्यवस्थापन गर्नुपर्ने माग राखेका छन् । विगतका १८ बुँदे माग कार्यान्वयन नभएको भन्दै फोहोर लैजान रोकेका उनीहरूले शुक्रबार सहरी विकास मन्त्रालयमा भएको वार्तामा सरोकारवालासँग यस्तो प्रस्ताव गरेका हुन् ।

काठमाडौं महानगरपालिकासहित उपत्यकाका २४ वटा नगरपालिकाले बन्चरेडाँडामा फाल्ने फोहोरले नुवाकोटको ककनी, बेलकोटगढी र धादिङको धुनीबेँसीका बासिन्दा प्रभावित हुँदै आएका छन् । यस क्षेत्रमा ४० हजार जनसंख्या छ । ल्यान्डफिल साइट बन्चरेडाँडामै यथावत् राख्ने हो भने प्रभावित बस्तीलाई अन्यत्र सार्नुपर्ने विकल्प पनि उनीहरूले राखेका छन् ।

‘उपत्यकाको फोहोर हाम्रोतिर नपठाउनुहोस्, यतै समाधान गर्नुस्,’ धुनीबेँसी नगरपालिका– १ का मनोज तामाङले माग राख्दै भने, ‘हामीसँग सहमति गरे पनि काठमाडौैं महानगरपालिका कार्यान्वयनबाट उम्किन खोज्यो, काठमाडौं महानगरले र सहरी विकास मन्त्रालयले हामीलाई पटक–पटक ढाँट्यो । दुई दिन फोहोर रोक्दा उपत्यकाका मानिसलाई टाउको दुख्छ, तर २० वर्षदेखि हामीले फोहोरको दुर्गन्ध सहनुपर्ने ? उपत्यकाका नगरपालिकाले २० वर्ष लगाएर पनि फोहोरको व्यवस्थापन गर्न सक्नुभएन ।’ उनले महानगरपालिकाले फोहोरबाट मासिक लाखौँ रकम उठाएपछि त्यसको व्यवस्थापन सही ढंगले नगरी आफूहरूलाई हैरानी दिएको भन्दै असन्तुष्टि पोखे ।

धुनीबेँसी– १ कै सुवास पाठकले बन्चरेडाँडा क्षेत्रको मुआब्जा, इआइए प्रतिवेदन, विगतका सहमति कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । ‘यसअघिको इआइए प्रतिवेदन खोइ ? अब फेरि अध्ययन गर्नुपर्‍यो ?’ उनले भने, ‘उपत्यकाको फोहोरले हामीलाई रोगी बनाउँदा पनि ध्यान नदिनु लापरबाही होइन ?’

पुरानो माग कार्यान्वयन नभएको भन्दै स्थानीयले केही दिनदेखि बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्दै आएका छन् । समस्याको समाधान खोज्न शुक्रबार सहरी विकास मन्त्रालयले सरकारवाला सबै पक्षलाई बोलाएर छलफल गरेको थियो । दिउँसो २ बजेदेखि ७ बजेसम्म छलफल भएको थियो । सरकारले ०७९ मा भएको १८ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले आक्रोश पोखेपछि छलफल विनानिष्कर्ष टुंगिएको थियो ।

१८ बुँदे सहमतिमा रातिमा मात्रै फोहोर ढुवानी गर्ने भनिएको थियो, तर पालना नभएको स्थानीयको गुनासो छ । ‘सबैभन्दा पहिले त मानव बस्ती र फोहोर एकैठाउँ हुनुभएन, अर्को कुरा ०७९ जेठमा भएको सहमति कार्यान्वयन नै भएन,’ ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले भने, ‘ढुवानीमा निकै लापरबाही छ, फोहोर खसाल्ने, लिच्चड चुहिने समस्या छ । जसले बस्ती नै अस्तव्यस्त र दुर्गन्धित बनाएको छ । फोहोर व्यवस्थापन मापदण्डअनुसार गर्ने र पुराना सहमति कार्यान्वयन गर्ने हो भने समाधान निस्किन्छ ।’ उनले पनि उपत्यकाको फोहोर उपत्यकाभित्रै व्यवस्थापन गर्ने हो भने कुनै गाउँ वा क्षेत्र फोहोरको सिकार बन्नुनपर्ने बताए । फोहोरका कारण कागती गाउँ, बन्चरेडाडाँमाथि सुडिनी, ढुंगानागाउँ, घोडारथुम्का बढी प्रभावित छन् । 

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले पुरानो सहमतिका केही विषय कार्यान्वयन भएको दाबी गर्दै लिच्चड व्यवस्थापनका लागि चालू आवमै ट्रिटमेन्ट प्लान्ट बनाउने बताइन् । उनले ४५ करोड ८० लाख बजेट फोहोर व्यवस्थापनमा छुट्याइएको बताउँदै फोहोरबाट महानगरले ०७८ देखि ०८२ सम्म १० करोड ८६ करोड आम्दानी गरेको पनि सुनाइन् । त्यस्तै, काठमाडौंका सिडिओ ईश्वरराज पौडेलले बन्चरेडाँडाबासीको समस्यामा सबै स्थानीय तहसँग समन्वय गर्ने र अघि बढ्ने बताए । सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले उपत्यकाका २४ पालिकाको फोहोरले बन्चरेडाँडावासीलाई समस्या भएको बताउँदै फोहोर घटाउने रणनीतिसहित काम गरिने बताए । ‘सबै पालिकाले आ–आफ्नो फोहोर व्यवस्थापन गरेको भए यो समस्या आउने थिएन, अझ फोहोर वर्गीकरण गरेको भए निकै कम फोहोर बन्चरेडाँडामा पुग्थ्यो,’ उनले भने, ‘यस्तो उपाय स्थानीय तहहरूले अपनाएका छैनन्, स्थानीयले उठाएका मागप्रति हामी जिम्मेवार छौँ, तर अहिले फोहोर विसर्जनको अवरोध खोलौँ, छलफललाई क्रमश: समाधानतिर लागौँ ।’

सुझावित समाचार