रुपन्देहीका दर्जन बढी उद्योगमा विद्युत् आपूर्ति रोकिएपछि उद्योगी व्यवसायीहरूले आन्दोलन सुरु गरेका छन्। वर्षौंसम्म डेडिकेटेड फिडर र ट्रंकलाइनको अर्बौँ बक्यौता नतिरेका उद्योगीले आन्दोलन सुरु गरेका हुन्।
आफूहरूले माग र उपभोग नै नगरेको ट्रंकलाइनको नाममा सरकारले जबर्जस्ती विद्युत् महसुल तिराउन खोजेको आरोप लगाउँदै सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले बाध्य भएर आन्दोलनमा उत्रन परेको बताए। ‘विद्युत प्रयोग गरेको बिल दिनुस्, हामी रकम भुक्तानी गछौँ,’ उनले भने। प्राधिकरणले सर्वसाधारणमा उद्योगीहरू फटाहा हुन् भन्ने भाष्य सिर्जना गरेको उनको आरोप छ।
विद्युत् आपूर्ति सुचारु गर्न माग राख्दै उद्योगीहरू श्रमिकसहित बिहीबार विद्युत् प्राधिकरणको कार्यालय भैरहवा पुगेर धर्ना दिएका थिए। उद्योगी, श्रमिक तथा उद्योग–व्यवसाय सम्बद्ध संघ–संस्थाहरूले न्याय नपाएसम्म आन्दोलन नरोकिने उनीहरूको चेतावनी छ।
बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराईले सरकारले लाइन काट्दा उद्योग बन्द गर्नुपरेको बताए। सरकारले लाइन काट्दै जाने हो भने उद्योग बन्द भई पुँजी पलायन हुने अवस्था आउने भन्दै उनले यसबाट श्रमिकसमेत मारमा परेको बताए।
रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीले ऊर्जामन्त्री कुलमान घिसिङले स्टन्टबाजी गरेको आरोप लगाए। मन्त्री घिसिङले श्रमिकको रोजीरोटीमा लात हानेको उनको आरोप छ। तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले राज्यले प्रमाणविना ‘कि पैसा तिर, कि उद्योग बन्द गर’ भन्दै उद्योगीमाथि दमन गरेको बताए।