सरकारले ११ देशमा रिक्त राजदूत तत्काल नियुक्त नगर्ने भएको छ । सरकारले गत ३० असोजमा कांग्रेस र एमालेको भागबन्डाका आधारमा नियुक्त चीन, बेलायत, अमेरिकासहित ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको थियो । उनीहरूलाई २० दिनभित्र फिर्ता भइसक्न भनिएको छ ।
राजदूत फिर्ता भएका कूटनीतिक मिसनमा कार्यरत कार्यवाहक राजदूतमध्ये अमेरिका र चीनमा सहसचिव छन् भने त्यसबाहेकमा उपसचिव तथा अधिकृत छन् । ‘रिक्त कूटनीतिक नियोगमा तत्कालै राजदूत नियुक्त गर्ने तयारी छैन,’ उच्च सरकारी स्रोतले भन्यो, ‘अहिले कार्यवाहक राजदूतहरूबाट काम चलाइनेछ ।’
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयको सम्बन्धित महाशाखाबाटै राजदूत रिक्त भएका कूटनीतिक नियोगहरूमा सघन समन्वय हुने व्यवस्था मिलाइएको जानकारी दिए । ‘फिर्ता बोलाइएका ती राजदूतहरू फर्कने क्रम पनि सुरु भएको छ । उहाँहरू नेपाल फर्कनुभएपछि अन्तर्राष्ट्रिय कानुुन एवं प्रचलनबमोजिम नेपाली दूतावासहरूमा उपनियोग प्रमुखहरूले कार्यवाहकका रूपमा काम गर्नुहुनेछ,’ परराष्ट्र प्रवक्ता क्षेत्रीले नयाँ पत्रिकासँग भने, ‘ती ११ दूतावासका उपनियोग प्रमुखहरूमा दुईजना सहसचिव तहका हुनुहुन्छ भने अरू प्राय: उपसचिव भई कूटनीतिको क्षेत्रमा लामो अनुभव हासिल गरिसक्नुभएका सक्षम र क्रियाशील कर्मचारी हुनुहुन्छ । मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरूले तत्तत् नियोगसँग सघन समन्वय गर्नुहुनेछ ।’
चीनमा सहसचिव रोशन खनाल तथा अमेरिकामा सहसचिव शरदराज आरणले कार्यवाहक राजदूतका रूपमा काम गर्नेछन् । उनी नियोग उपप्रमुखका रूपमा कार्यरत छन् । अन्य नियोगहरूमा उपप्रमुख रहेका उपसचिवहरूले कार्यवाहक राजदूतका रूपमा जिम्मेवारी सम्हाल्नेछन् । ‘अन्य मुलुकको तुलनामा हाम्रा नियोगहरूको आकार सानो भए पनि यस परिस्थितिमा दूतावासबाट गरिने प्रतिनिधित्व, राष्ट्रहित प्रवद्र्धन, सेवा प्रवाहलगायतका कामहरू सुचारू रहनेछन्,’ पौडेलले भने, ‘नियोगहरूको कार्यसम्पादन जिम्मेवारी र उच्च मनोबलका साथ थप प्रभावकारी बनाउने दिशामा मन्त्रालयले आवश्यक व्यवस्था मिलाएको छ ।’
गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ताको निर्णय गरेको थियो । उनीहरूलाई २० कात्तिकसम्म स्वदेश फिर्ता हुन निर्देशन दिइएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले १४ साउन ०८१ मा सिफारिस गरेका १० जना र त्यसअघिको सरकारले सिफारिस गरेका एकजना गरी ११ जना राजदूत फिर्ता हुने क्रममा छन् । एमाले र कांग्रेसको भागबन्डामा नियुक्त भएका अन्य ६ राजदूतलाई यो सरकारले यथावत् राखेको छ ।
सरकारी निर्णयअनुसार फिर्ता हुन लागेका राजदूतहरूमा नरेशविक्रम ढकाल (साउदी अरेबिया), धनप्रसाद पण्डित (इजरायल), सनिल नेपाल (स्पेन), डा. शैल रूपाखेती (जर्मनी), लोकदर्शन रेग्मी (अमेरिका), चन्द्रकुमार घिमिरे (बेलायत), जंगबहादुर चौहान (रुस), रमेशचन्द्र पौडेल (कतार), डा. कृष्णप्रसाद ओली (चीन), डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया) र डा. दुर्गाबहादुर सुवेदी (जापान) छन् । सुवेदी २४ चैत ०७८ मा जापानका लागि राजदूत सिफारिस भएका थिए । उनी परराष्ट्रका तत्कालीन बहालवाला कर्मचारी भए पनि कांग्रेस नेतृ डा. आरजु राणा देउवाको सिफारिसमा राजदूत नियुक्त भएका कारण सरकारले फिर्ता बोलाएको हो ।
भारतका लागि डा. शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि राजदूत डा. पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर, दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ यथावत् छन् ।
फिर्ता भएका राजदूतहरूलाई २० कात्तिकमा फर्किने गरी हवाई टिकटको प्रबन्ध भइसकेको छ । ‘२० कात्तिकसम्म स्वदेश पुग्ने गरी फर्कन लागेको छु, सरकारले निर्णय गरिसकेपछि औपचारिक रूपमा काम पनि गरेको छैन,’ फिर्ता बोलाइएका एक राजदूतले टेलिफोनमा भने ।