सल्यानबाट साढे १५ करोडको तरकारी र फलफूल अन्य जिल्लामा बिक्री

जेठदेखि भदौसम्म ४२ लाख २७ हजार किलो तरकारी तथा फलफूल दाङ, चितवन हुँदै काठमाडौंसम्म बिक्री

सोमबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

सल्यानबाट चार महिनामा १५ करोड रुपैयाँभन्दा बढीको ताजा तरकारी तथा फलफूल अन्य जिल्लामा बिक्री भएको छ । कृषिउपज बजार सञ्चालक समिति कपुरकोटका अनुसार ४२ लाख २७ हजार किलो तरकारी तथा फलफूलबाट १५ करोड २७ लाख २४ हजार रुपैयाँ किसानले हात पारेका छन् । यो वर्षको जेठ, असार, साउन र भदौ महिनामा ४२ लाख किलोभन्दा बढी तरकारी, तीन हजार दुई सय किलो अदुवा र १६ हजार पाँच सय किलो फलफूल जिल्लाबाहिर बिक्री भएको कृषिउपज सञ्चालक समिति कपुरकोट सल्यानका अध्यक्ष तिलक शर्माले जानकारी दिए । कपुरकोटसहितका विभिन्न सहायक २७ हाट–बजारबाट तरकारी व्यापारीले सीधै लिने भएकाले असोज महिनाको डाटा संकलनको काम भइरहेकाले असोज महिनाको उत्पादन जोड्दा आम्दानी पनि बढ्ने उनको भनाइ छ । 

बेमौसमी तरकारी खेतीका लागि प्रख्यात क्षेत्रका रूपमा कपुरकोटलाई चिन्ने गरिन्छ । यहाँबाट दाङ, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, धनगढी र काठमाडांैसम्म ताजा तरकारी तथा फलफूल जाने गर्छ । अत्यधिक वर्षा भएमा सल्यानको तरकारी भारतसम्म पुग्ने गरेको कृषिउपज सञ्चालक समिति कपुरकोटका व्यवस्थापक चन्द्रमणि खड्काले बताए ।

किसानले चार महिनाको अवधिमा २३ लाख ७२ हजार किलो टमाटर बिक्रीबाट आठ करोड ९५ लाख ८९ हजार रुपैयाँ, आठ लाख ३८ हजार किलो बन्दागोभीबाट एक करोड ३८ लाख १७ हजार रुपैयाँ र तीन लाख ४७ हजार किलो काउलीबाट एक करोड ३१ लाख रुपैयाँ कमाएका छन् । त्यस्तै, एक लाख ३८ हजार किलो सिमीबाट ८८ लाख ८८ हजार, साढे ९२ हजार किलो भेडे खुर्सानीबाट ६७ लाख ४५ हजार, ६८ हजार तीन सय ४५ किलो हरियो खुर्सानी मोटोबाट साढे २६ लाखभन्दा बढी कमाएका छन् । 

त्यसैगरी, ६१ हजार किलो हरियो खुर्सानी (मसिनो)बाट ४३ लाख, १२ हजार किलो मछे खुर्सानीबाट ८० लाख ७५ हजार, २३ हजार किलो अकबरे खुर्सानीबाट एक करोड ८६ लाख, ७३ हजार किलो काँक्रो बिक्री गरेबापत किसानले १३ लाख ६२ हजार रुपैयाँ कमाएका हुन् । यस्तै, ७८ हजार नौ सय ५५ किलो काँक्रो लोकलबाट तीन करोड पाँच हजार नौ सय ५४ रुपैयाँ, १२ हजार एक सय ४७ किलो मूलाबाट २० लाख एक हजार एक सय ४८ रुपैयाँ, २१ हजार तीन सय १० किलो पुरानो अदुवाबाट एक करोड ४१ लाख तीन सय ७४ रुपैयाँ, तीन हजार दुई सय किलो नयाँ अदुवाबाट १७ लाख ६ हजार रुपैयाँ, आठ हजार नौ सय ७१ किलो सागबाट ४९ लाख सात सय ७० रुपैयाँ, पाँच हजार ६ सय ९२ किलो धनियाँबाट ८९ लाख तीन हजार तीन सय २० रुपैयाँ जिल्लामा भित्रिएको छ । 

यसका अलावा नास्पाती, कागती, स्कुस, फर्सी, भान्टा, करेला, आलु, सिमी, राज्मा र लसुनबाट पनि जिल्लामा मनग्य रकम भित्रिएको तथ्यांकमा उल्लेख छ ।जसमा करिब १० हजार किलो नास्पातीबाट ११ लाख, साढे ६ हजार किलो कागतीबाट ३१ लाख, चार हजार किलो स्कुसबाट ६३ हजार, दुई हजार नौ सय किलो फर्सीबाट ४१ हजार रुपैयाँ किसानले पाएका छन् । त्यसैगरी, साढे तीन हजार भान्टाबाट ९६ हजार, दुई लाख किलो तितेकरेलाबाट ७६ लाख, करिब १० हजार किलो आलुबाट ३९ लाख रुपैयाँ, चार हजार किलो लोकल सिमीबाट चार लाख रुपैयाँ कमाइ किसानको भागमा परेको छ । सँगसँगै दुई हजार किलो राज्मा सिमीबाट ४७ हजार र ६ हजार किलो लसुनबाट ६९ लाख रुपैयाँ जिल्ला भित्रिएको बताइएको छ । 

सुझावित समाचार