दलित तथा विपन्न परिवारलाई लक्ष्य गरी सप्तरीको महादेवा गाउँपालिकाले एकीकृत बस्ती निर्माण गर्न प्रक्रिया अगाडि बढाएको छ ।
थातथलोसमेत नभएका दलित समुदायलाई सामूहिक आवास भवनका लागि महादेवा गाउँपालिका वडा- ५ मा नमुना एकीकृत बस्तीको निर्माण गर्न लागेको महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहले जानकारी दिए ।
‘चालू आर्थिक वर्षमा २० परिवारका लागि दुई कोठा, किचेन र शौचालयसहितका एकीकृत बस्ती निर्माण गरिनेछ,’ उनले भने, ‘एक परिवारको भवन निर्माणका लागि झन्डै १२ लाख खर्च हुनेछ । आगामी वर्षमा यसलाई निरन्तरता दिँदै बस्ती विस्तार गरिने योजना छ ।’