अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा विभिन्न राज्यमा विशाल प्रदर्शन भएका छन् । ट्रम्प सरकारको नीतिविरुद्ध न्युयोर्क, वासिंटन डिसी, सिकागो, मियामी र लस एन्जलसलगायत सहरमा प्रदर्शन भएका हुन् । प्रदर्शनकारीले ‘डेमोक्रेसी नट मोनार्की’ अर्थात् लोकतन्त्र, राजतन्त्र होइन, संविधान विकल्प होइन जस्ता, आप्रवासीमाथिको कडाइ बन्द गरियोस्लगायत नारा लेखिएका ब्यानर बोकेका थिए । तर, ट्रम्पका विरोधीले प्रदर्शनकारीको सम्बन्ध अतिवामपन्थी संगठन एटिफासँग रहेको दाबी गरेका छन् । ‘नो किंग्स’ विरोध प्रदर्शन अमेरिकाका प्राय: सबै राज्य र अमेरिकाबाहिर पनि भएको थियो । न्युयोर्क सहरको प्रतिष्ठित टाइम्स स्क्वायर र वरपरका सडक हजारौँ मानिसले भरिएका थिए ।
धेरै अमेरिकी राज्यले राष्ट्रिय गार्ड परिचालन गरेका थिए । तर, लगभग ७० लाख मानिसको सहभागिता रहेको उक्त प्रदर्शन शान्तिपूर्ण रहेको आयोजकले दाबी गरेका छन् । यसै वर्षको जनवरीमा ह्वाइट हाउस फर्किएदेखि नै ट्रम्पले संघीय सरकारका केही संरचना भत्काउन र राज्यका गभर्नरको आपत्तिका बाबजुद अमेरिकी सहरमा राष्ट्रिय गार्ड सेना तैनाथ गर्न कार्यकारी आदेश प्रयोग गर्दै राष्ट्रपतिको शक्तिको दायरा विस्तार गरेका छन् । उनले प्रशासनका शीर्ष कानुन प्रवर्तन अधिकारीलाई आफ्ना कथित शत्रुलाई मुद्दा चलाउन पनि आह्वान गरेका छन् । राष्ट्रपतिले संकटमा परेको देशलाई पुनर्निर्माण गर्न आफ्नो कार्य आवश्यक रहेको बताएका छन् ।
आलोचकले उनको प्रशासनका केही कदम असंवैधानिक र अमेरिकी लोकतन्त्रका लागि खतरा भएको चेतावनी दिएका छन् । आइतबार प्रसारण भएको फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले प्रदर्शनबारे टिप्पणी गरेका थिए । ‘राजा ! यो कुनै कार्य होइन,’ ट्रम्पले अन्तर्वार्ताका क्रममा भने । ‘तपाईंलाई थाहा छ, तिनीहरूले मलाई राजाको रूपमा उल्लेख गरिरहेका छन् । म राजा होइन ।’ न्युयोर्कमा भिडका केही प्रदर्शनकारीले ‘लोकतन्त्र यस्तै देखिन्छ’ लेखेका प्लेकार्ड बोकेर ट्रम्पको विरोध गरे । प्रदर्शनको भिडियो खिच्न हेलिकोप्टर र ड्रोनहरू माथि उडिरहेका देख्न सकिन्थ्यो । न्युयोर्क प्रहरी विभागले राज्यका पाँचैवटा क्षेत्रमा लाखभन्दा बढी मानिस भएका र विरोधसँग सम्बन्धित कुनै पनि गिरफ्तारी नभएको बताएको छ ।
टाइम्स स्क्वायरमा बीस हजारभन्दा बढी मानिसले सातौँ एभिन्युमा मार्च गरेका एक प्रहरी अधिकारीले अनुमान गरेका छन् । आफू न्यूयोर्कको विरोध प्रदर्शनमा सामेल भएको र ट्रम्प प्रशासनअन्तर्गत भइरहेको ‘फासीवाद र अधिनायकवादी सरकारतर्फको कदम’प्रति दु:खी भएको स्वतन्त्र लेखक तथा सम्पादक बेथ जास्लोफले बताइन् । ‘मलाई न्यूयोर्क सहरबारे धेरै चासो छ,’ उनले भनिन् । एकजना स्वतन्त्र लेखिका तथा सम्पादक बेथले ट्रम्प प्रशासन ‘फासीवाद र अधिनायकवादतर्फ उन्मुख भएकाले आफू आक्रोशित एवं पीडित महसुस गरेर न्युयोर्कको प्रदर्शनमा सहभागी भएको बताइन् । जनवरीमा पुन: निर्वाचित भएपछि ट्रम्पले राष्ट्रपतीय अधिकारको सीमा विस्तार गरेका छन् र आफ्नो कार्यकारी आदेशमार्फत संघीय सरकारका कतिपय अधिकारलाई आफ्नो नियन्त्रणमा राखेका छन् ।
अमेरिकाबाहिर पनि ट्रम्पविरोधी प्रदर्शन भएका छन् । इटलीको रोम, स्पेनको म्याड्रिड र जर्मनीको बर्लिनमा पनि यस्ता प्रदर्शन भएका छन् ।