आगामी २१ फागुनमा तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा मतदाता नामावली संकलन अभियान तीव्र बनेको छ । ९ असोजदेखि सुरु भएको मतदाता नामावली दर्ता अभियानको पहिलो १० दिनभित्र आठ सयभन्दा बढी नागरिकले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका निर्वाचन अधिकृत हरिप्रसाद ढकालका अनुसार सोमबारसम्म मकवानपुरमा ८३८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। सोमबार मात्रै १६८ जनाले आफ्नो विवरण दर्ता गराएको उनले जानकारी दिए । उनका अनुसार दर्ता गराउनेहरूमा अधिकांश २५ वर्षमुनिका युवायुवती रहेका छन् ।
‘शैक्षिक संस्थाहरूमा बिदा भएको समयमा उमेर पुगेका विद्यार्थीहरू फुर्सदको सदुपयोग गर्दै मतदाता नामावली दर्तामा सक्रिय सहभागी भइरहेका छन्,’ उनले भने। निर्वाचन अधिकृत ढकालका अनुसार नयाँ दर्तासँगै पुराना विवरण सच्याउने, व्यक्तिगत विवरण अद्यावधिक गर्ने र स्थान परिवर्तनका कार्यहरू पनि एकैसाथ भइरहेको छ ।
निर्वाचन कार्यालयले यसपालिबाट अनलाइन प्रणाली पनि सुरु गरेकोले मतदाता नामावली दर्ता प्रक्रिया थप सहज बनेको निर्वाचन अधिकृत ढकालको भनाइ छ । ‘नागरिकले घरमै बसेर अनलाइन फारम भरेर नाम दर्ता प्रक्रिया सुरु गर्न सक्छन् । तर, अन्तिम चरणमा स्थानीय निर्वाचन कार्यालयमा पुगेर फोटो खिचाउने र बायोमेट्रिक गर्नुपर्ने हुन्छ,’ उनले स्पष्ट पारे ।
ढकालका अनुसार अब मतदाता नामावली दर्ता गर्न आफ्नै गृहजिल्ला पुग्नुपर्ने बाध्यता छैन । जसले पनि आफ्नो बसोबास क्षेत्रको नजिकको निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ । निर्वाचन अधिकृत ढकालले आगामी कात्तिक ३० गतेसम्म दर्ताको समयसीमा तोकिएको जानकारी दिँदै योग्य नागरिक सबैलाई निर्धारित अवधिभित्र आफ्नो नाम दर्ता गराइसक्न आग्रह पनि गरे ।
०७९ मंसिरमा सम्पन्न अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा दुईवटा संघीय निर्वाचन क्षेत्र रहेका थिए । त्यतिवेला जिल्लाभर कुल मतदाताको संख्या दुई लाख ९४ हजार ९१९ रहेको थियो । तीमध्ये महिला मतदाताको संख्या एक लाख ४४ हजार ९५९, पुरुष मतदाताको संख्या एक लाख ४९ हजार ९५४ र अन्य मतदाताको संख्या ६ जना रहेकाे थियाे । हाल सरकारद्वारा संशोधित मतदाता नामावली ऐनअनुसार अब निर्वाचन घोषणा भइसकेपछि पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । यसअनुसार १८ वर्ष उमेर पूरा गरेका सबै नागरिकले निर्वाचनअघि आगामी कात्तिक ३० गतेसम्म नाम दर्ता गराउन पाउनेछन् ।