एन्फा विवाद : अध्यक्ष नेम्वाङको राजीनामा र निर्वाचनको माग

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित चार पदाधिकारीले अध्यक्ष पंकजविक्रम नेम्वाङको राजीनामासँगै निर्वाचनको माग राखेका छन् । नेम्वाङको नेतृत्व र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै उनीहरूले राजीनामा र अर्ली निर्वाचनको माग राखेका हुन् । खड्कासहित उपाध्यक्ष विराटजंग शाही, सदस्यद्वय रूपेश अधिकारी र रवीन्द्र चन्दले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाली फुटबललाई थप दुर्घटनाबाट जोगाउन सातबुँदे असन्तुुष्टि जनाएका छन् । संवेदनशील घटनामा उदासीनता, सरोकारवालाको बेवास्ता, लिग सञ्चालनमा उदासीनता, अन्तर्राष्ट्रिय खेल सञ्चालनमा असफलता, अपारदर्शी आर्थिक गतिविधि, खेलाडीलाई प्रोत्साहनको कमी र साधारणसभाका कार्यक्रममा ढिलाइ गरेको उनीहरूले आरोप लगाएका छन् ।

०८३ असारमा नेम्वाङको कार्यकाल सकिँदै छ । नेम्वाङ नेतृत्वमा आएपछि फुटबलकै मेरुदण्ड सहिद स्मारक ‘ए’ डिभिजन लिग साइकल एकपटक पूरा भएको छ । लिग नहुँदा राष्ट्रिय खेलाडी विदेश पलायन भएका छन् । संघका हरेक साधारणसभा र कार्यसमिति बैठक विवादास्पद हुँदै आएको छ ।

‘नेतृत्व असक्षम हुँदा त्यसको दोष सबैले भोग्नुपरिरहेको वर्तमान अवस्थामा म अध्यक्ष तथा महासचिव (किरण राई)लाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु कि नेपाली फुटबललाई थप दुर्घटनाबाट जोगाउनका लागि पनि तपाईंहरूले समयमै मार्गप्रशस्त गरिदिन अनुरोध गर्दछु,’ खड्काले भने, ‘अध्यक्षले राजीनामा दिनुस् । हामी रोकिएका सबै कार्यक्रम गर्छौँ । वर्तमान एन्फा नेतृत्वले देखाएको कार्यशैलीले हामीलाई गम्भीर रूपमा निराश बनाएको छ । हामीले लामो समयदेखि असन्तुष्टि जनाउँदै आइरहेका छौँ ।’ असन्तुष्ट सदस्य चन्दले कार्यसमिति बैठकमा अल्पमतमा पर्दा आफूहरूको कुरा नसुनिएको बताए । ‘हामीले कार्यसमिति बैठकमा यी असन्तुष्टि राखेका हौँ । तर, अल्पमतमा परेपछि हाम्रो कुरा त्यहाँ सुनिँदैन,’ चन्दले भने ।

भियतनाममा ‘होम म्याच’ खेल्दै नेपाल

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मंगलबार एएफसी एसियन कपअन्तर्गत समूह ‘एफ’को होम म्याच भियतनामविरुद्ध उसैको मैदानमा खेल्दै छ । एएफसीले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय खेल खेल्न अयोग्य घोषित गरेपछि नेपालले भियतनामविरुद्ध बिन डोउङ मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि ९ अक्टोबरमा बिन होउङमै सम्पन्न अवे खेलमा नेपाल भियतनामसँग ३–१ ले पराजित भएको थियो ।

एएफसीले मैदानको सतह, भिआइपी खेलाडीदेखि मिडियासम्मको प्रवेशद्वार एकै भएको, टिकट र सिटको सिस्टम नभएको, फ्लड लाइटमा समस्या देखाउँदै रंगशालामा अन्तर्राष्ट्रिय खेल नहुने जनायो । एएफसीले एन्फालाई ‘न्युट्रल भेन्यु’ खोज्न भन्यो । एन्फा नेतृत्वले ४० सदस्यीय नेपाली टोली भियतनाममा पठायो । जसमा अतिरिक्त आठ पदाधिकारी छन् ।

नेपाल र भियतनामबिचको खेलमा पानी पर्ने सम्भावना छ । भियतनामको स्थानीय मिडियाले खेल दौरान भारी वर्षा हुन सक्ने जनाएका छन् । 

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले पानी परेको अवस्थामा खेल्न सहज हुने बताएका छन् । ‘हामीलाई भिजेको मैदानमा खेल्न सहज लाग्छ । योभन्दा खराब कन्डिसनमा नेपालले धेरै खेल खेलिसकेको छ,’ सोमबार आयोजित प्रिपोस्ट म्याचमा रोसले भने, ‘खेलाडीहरू पनि यस्तो किसिमको मौसममा खेल्न रुचाउँछन् ।’ नेपाली खेलाडीहरू हिलाम्मे मैदानमा खेल्न अभ्यस्त भएको बताउँदै प्रशिक्षक रोसले दोस्रो खेलमा भियतनामविरुद्ध नतिजा निकाल्ने दाबी गरेका छन् । ‘मौसमविद्हरूले भनेजस्तै पानी परेको अवस्थामा हामी भियतनामलाई हराउँछौँ,’ उनले भने । 

अञ्जन र रोहितलाई मौका
नेपालका स्ट्राइकर अञ्जन विष्टलाई कीर्तिमानी १४ अन्तर्राष्ट्रिय गोल गर्ने अवसर छ । यसअघि स्ट्राइकर हरि खड्का र नीराजन रायमाझीले नेपालका लागि सर्वाधिक १३ गोल गरेका थिए । अञ्जन दुई वर्षयता गोलविहीन छन् । यसैगरी डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले पनि नेपाली राष्ट्रिय टोलीबाट सय खेल कोसेढुंगा पूरा गर्नेछन् । उनी कप्तान किरणकुमार लिम्बूपछि सयौँ खेल खेल्ने पुरुष दोस्रो खेलाडी हुन् । 

See More On

सुझावित समाचार