गोदावरी नगरपालिकाले चापागाउँ प्रहरी वृत्तलाई विपतमा प्रयोग हुने सामानसहित तीनवटा मोटरसाइकल हस्तान्तरण गरेको छ। नगरपालिकाले जेन–जी प्रदर्शनमा ध्वस्त भएको चापागाउँ वृत्तको भवन निर्माणका लागि १० लाख रुपैयाँ पनि सहयोग गरेको छ।
आइतबार नगरपालिकाका मेयर गजेन्द्र महर्जन र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीमार्फत मोटरसाइकल, विपत् सामान र १० लाखको चेक हस्तान्तरण गरेका हुन्।
‘प्रहरीलाई अप्ठ्यारो परेको वेला हामीले सहयोग गरेका छौँ, अहिले प्रहरी भौतिक रूपमा निकै दयनीय अवस्थामा छ, स्थानीय समुदाय र तहहरूले सहयोग गर्नुपर्ने हुन्छ,’ मेयर महर्जनले भने। प्रमुख प्रशासकीय अधिकृत खड्काले प्रहरीलाई थप सहयोग गर्ने बताउँदै यो सुरुवाती सहयोग भएको जानकारी दिए।
उनका अनुसार तीन थान मोटरसाइकल, ५० थान लेडर ग्लोब्स, ५० थान कटन ग्लोब्स, १० थान टर्च लाइट, दुई थान ब्याक बोर्ड, तीन थान फ्लास लाइट, २२० थान डाइनामिक रेस्क्यु रोप, १५ थान साबेल, १५ थान पिक, १०० थान सेफ्टी भेस्ट, पाँच थान स्ट्रेचर, १० थान प्राथमिक उपचार बक्स, १०० थान रेनकोट, पाँच थान लाइफ रिङ, पाँच थान थ्रो ब्याग, ५० थान सेक्टी हेलमेट र तीन थान मेघा फोन माइक हस्तान्तरण गरिएको हो।
एसएसपी होबिन्द्र बोगटीका अनुसार जेन–जी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएका २१ वटा युनिट पुरानै अस्थामा आइसकेका छन्। थप दुईवटा युनिट सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।