- बिहीबार दिउँसो मन्त्री कुलमान घिसिङ पुगेर स्थलगत निरीक्षण गर्दै शुक्रबार साँझसम्म अस्थायी रूपले बाटो खुलाउन निर्देशन दिएका थिए, त्यसपछि बिहीबार रातभरि खोला–किनारामा बत्ती बालेर डोजरले डाइभर्सन बनाउने काम भएको थियो
संघीय राजधानी काठमाडौंलाई बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरू जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । १७, १८ र १९ असोजको वर्षासँगैको आएको बाढीपहिरोबाट राजमार्गको काभे्र र सिन्धुलीका विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब चार किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएको हो ।
खोलाले सडक बगाएको ठाउँमा अस्थायी डाइभर्सन बनाएर साँझबाट यातायात सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गा प्रसादले बताए । ‘डाइभर्सन बनाएको धेरैजसो ठाउँमा दुईतर्फी नै गाडी चलिरहेका छन्, केही ठाउँमा एकतर्फी छ,’ इन्जिनियर प्रसादले भने, ‘हामीले निर्माण थालेको चार दिनमै डाइभर्सन बनायौं । अब सबै ठाउँमा दुईतर्फी सञ्चालन हुन्छ ।’
काभ्रेतर्फी १३ र सिन्धुलीतर्फ तीन गरी १६ ठाउँमा डाइभर्सन बनाएर यातायात सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी विन्दु अधिकारीले बताइन् ।
रोशी खोलाको बाढीले बीपी राजमार्गको चौकीडाँडा, कटुन्जेको घुमाउने, चारसयबेशी, गिम्दीबेशी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालावेशी, तथा पिप्लेको चार स्थान, माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण गरिएको हो ।
गत १८ र १९ असोजको बाढीले चौकीडाँडादेखि नेपालथोकखण्डको १६ ठाउँमा सडक बगाउँदा यातायात ठप्प भएको थियो । पूर्वी नेपालको लाइफलाइन बिपी राजमार्ग अवरुद्ध हुँदा पुष्पलाल राजमार्गमार्फत सवारीसाधन काठमाडौं आइरहेका थिए ।
गत वर्ष असोजको बाढीले नौ किलोमिटर सडक बगाएकामा डाइभर्सनमार्फत यातायात सञ्चालन भइरहेको थियो । तर, गत शनिबार र आइतबार फेरि सडक बगाएको थियो । भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका ऊर्जामन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको जानकारी लिएका थिए । उनले उपकरण तथा जनशक्ति थप गर्न र बत्तीको व्यवस्था गरी राति पनि काम गर्न निर्देशन दिएका थिए ।