२४ भदौमा तीनकुनेस्थित नयाँ बानेश्वर प्रहरी वृत्तका असइ नरेन्द्रप्रसाद पटेल मुद्दा शाखामा मुद्दा लेख्न व्यस्त थिए । अचानक कार्यालयमा एउटा भिड छिरेर आगो सल्काउन र प्रहरीलाई धरपकड गर्न थाल्यो । प्रहरीको भागाभाग चल्यो ।
कसैका बर्दी, बुट र सञ्चार सेट लुटिए । कार्यालयमा आगो लगाउन थालेपछि थुनुवा कक्षको ढोका खोलेर पटेल बाहिर भागे । गेटबाहिर आउँदा अन्य प्रहरीको हालत बिजोग थियो । प्रहरीलाई लाइन लगाएर धम्क्याउँदै कुटपिट गरिँदै थियो । उनीहरूको बन्दुक, सञ्चार सेट र बर्दी खोसिँदै थियो ।
बाहिर निस्किएका असइ पटेलको पनि बर्दी र बुट प्रदर्शनकारीले लुटे । अन्य प्रहरीसँगै उनलाई पनि लाइनमा लगाए । कतिपय प्रहरी हाफकट्टु र गन्जीमा थिए । लाइनमा रहेका १५–२० जना प्रहरीले हात उठाउँदै माफी माग्दै थिए । पटेलले पनि माफ माग्दै हात उठाए । प्रदर्शनकारीले प्रहरीको लौरो र बुट खोसेर प्रहरीमाथि नै प्रहार गरिरहेका थिए । उनीहरूलाई प्रदर्शनकारीले कुट्दै बागमती नदीमा धकेले । पौडिन नसक्ने प्रहरीहरू नदीको किनारको झाडीमा लुके । पटेलसहित अन्य प्रहरी खोलैखोला भाग्न खोजिरहे । तर, माथिबाट प्रदर्शनकारीले अन्धाधुन्ध ढुंगा र इँटा वर्षाए ।
भाग्दै गरेका प्रहरीले ढुंगा नहान्न खोलाबाटै हात जोडेर अनुनयविनय गरे पनि प्रदर्शनकारीले ढुंगा हानिरहे । प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले पटेलको टाउको फुट्यो । उनी खोलामै लडे । खोलाको पानी रगताम्य भयो । प्रदर्शनकारीको ढुंगाको चोट खाँदै अन्य प्रहरीले उनलाई उठाउँदै सडकमा निकाले । एम्बुलेन्समार्फत पटेललाई निजामती अस्पताल पुर्याइयो ।
निजामती अस्पतालले तत्कालै ट्रमा सेन्टरमा रिफर गर्यो । त्यहाँ पुगेपछि उनलाई रगत चढाइयो । आइसियूमा राखेर उपचार थालियो । प्रदर्शनकारीको ढुंगा प्रहारले उनको टाउकोको चोक्टा नै उडेको थियो । तर, भाग्यवश गहिरो चोटले मस्तिष्कमा चोट पुर्याएन । ट्रमा अस्पतालमा लगेको केहीबेरमै उनी ब्युँझिएका थिए । २९ दिनदेखि उनको राष्ट्रिय ट्रमा सेन्टरको चौथो तलामा उपचार जारी छ ।
‘जागिर खाएको २५ वर्ष पुग्यो, यस्तो अवस्था भोगिएको थिएन, तर त्यस दिनको दृश्य फिल्मजस्तै भयो, मुद्दा शाखामा काम गरिरहेको थिएँ, अचानक प्रदर्शनकारीले आगो सल्काउन र तोडफोड गर्न थाले,’ उनले सुनाए, ‘ज्यान बचाउँछु भनेर भाग्नेसम्म स्थिति थिएन, यतिसम्म त ०६२/६३ को आन्दोलनमा पनि भएको थिएन ।’ उनले जेन–जी प्रदर्शनमा अराजक समूहले प्रहरीलाई निसाना बनाएको र शून्य अवस्थामा पुर्याएको बताए । त्यस दिन धन्न भाग्यले बाँचेका उनी अब छिट्टै डिस्चार्ज भएर काममा फर्किने सोचमा छन् । जागिर अवधि अझै पाँच वर्ष बाँकी रहेकाले आफू पेसामै फर्कने उनले सुनाए ।
पटेल जागिरको २५ वर्षे अवधिमा देशका कैयौँ जिल्ला पुगे । उनको स्थायी घर रौतहटस्थित पराहमा पर्छ । उनको परिवार अहिले गाउँमै बस्छन् । जागिरे बनेपछि उनले छोराछोरीलाई काठमाडौंमा पढाउने सोच बनाए । तर, प्रहरीको तलबले नपुग्ने भएपछि गाउँमा छोराछोरीले पढ्दै आइरहेको उनले बताए । उनी घाइते भएपछि आएकी श्रीमती अस्पतालमा कुरुवा बसेकी छिन् । जेन–जी प्रदर्शनका क्रममा उपत्यकासहित देशभरका अधिकांंश प्रहरी वृत्तमा आगजनी र तोडफोड भयो । प्रहरीको बिल्लीबाठ हुने गरी लखेटियो । पछिल्लो समय प्रहरी बिस्तारै ड्युटीमा फर्किए पनि उनीहरूको मनोबल भने कमजोर देखिएको छ ।