देउवादम्पती र खड्कामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान : निवासमा जलेको अवस्थामा भेटिएको पैसा फरेन्सिक परीक्षण गरिँदै

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी डा. आरजु राणा देउवा र पूर्वमन्त्री दीपक खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान जारी छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवादम्पती र खड्कामाथि हालसम्म संकलित प्रमाण हेर्ने कामलाई तीव्र पारेको छ । गत आइतबार विभाग टोलीले देउवा र खड्कानिवासमा गएर अवलोकन गरी क्षति र सम्पत्तिको मुचुल्का उठाएर ल्याएको थियो । 

जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले देउवा र खड्काको घरबाट पैसा निकालेर जलाएको, उडाएको, लुटेर लगेको जस्ता तस्बिर र भिडियो सामाजिक सञ्जालमा व्यापक भएका थिए । यसबारे चौतर्फी प्रश्न उठेपछि दुई सातापछि विभागले आइतबार टोली खटाएको थियो । टोलीले क्षतिको अवस्था र वस्तुस्थितिसमेत हेरेर मुचुल्का उठाएर ल्याएको छ । 

अहिले विभागले पैसाबारे सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटो र भिडियो र अन्य प्रमाणको परीक्षणका लागि ‘फरेन्सिक ल्याब टेस्ट’ गर्न प्रहरीमा पठाएको छ । ‘सामाजिक सञ्जालमा आएका फोटो, भिडियोलगायत प्रमाणको फरेन्सिक परीक्षणका लागि प्रहरीकोमा पठाइएको छ,’ विभाग स्रोत भन्छ, ‘परीक्षण भएर आएपछि अनुसन्धान अलि स्पष्ट होला ।’ अहिलेको छानबिन प्रारम्भिक अवस्थाको रहेको स्रोत बताउँछ । 

प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएका नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको बताएकी छिन् । प्रधानमन्त्रीको भनाइले पनि देउवा र खड्कानिवासमा जलेका सम्पत्तिमाथि छानबिन भइरहेको पुष्टि गर्छ ।

सम्पत्ति शुद्धीकरणको टोली एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा पनि पुगेको थियो । विभागको ६ सदस्यीय टोली सोमबार ओली र प्रचण्डनिवासमा पुगेको थियो । तर, दुवैको निवासबाट पैसा भने नभेटिएको एक कर्मचारीले बताए । टोलीले खरानी मात्र भेटेको जनाएको छ ।

शीर्ष नेताहरूको पासपोर्ट रोक्काबारे अध्ययन हुँदै 
सरकारले प्रमुख तीन दलका शीर्ष नेताको पासपोर्ट रोक्का गर्ने तयारी गरिरहेको चर्चा पनि बाहिरिएको छ । एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, निवर्तमान गृहमन्त्री रमेश लेखकको पासपोर्ट रोक्का गर्न लागिएको विषय बाहिरिएका छन् ।

 जेन–जी आन्दोलनमा चरम दमन गरेको र भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायत आरोपमा शीर्ष नेतामाथि छानबिन गर्न लागिएको र त्यस क्रममा विदेश भाग्न सक्ने भएकाले पासपोर्ट रोक्का गर्नुपर्नेबारे छलफल भएको बताइएको छ । जेन–जी दमनबारे छानबिनका लागि सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरिसकेको छ । अर्कातिर प्रमुख दलका शीर्ष नेतामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि प्रारम्भिक छानबिन अघि बढिसकेको छ । 

यद्यपि, पासपोर्ट रोक्काबारेको ठोस निर्णय भने सरकारले गरिसकेको छैन । बिहीबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भने, ‘पासपोर्ट रोक्काको सन्दर्भमा खासगरी भ्रष्टाचार, अनियमितता, विभिन्न अपराधसँग जोडिएका ठुलासाना जे–सुकै अवस्था हुन्, राज्यका संयन्त्रहरूले अनुसन्धान गरिरहेको छ । राहदानीको सन्दर्भमा पनि के–कसो गर्ने भनेर अनुसन्धान अघि बढेको छ ।’ 

नयाँ पत्रिकाको जिज्ञासामा पनि मन्त्री खरेलले अनुसन्धानका क्रममा आवश्यक प्रक्रिया अघि बढेको बताए । यसको विस्तृत भने उनले बताउन मानेनन् । गृहमन्त्री ओमप्रकाश अर्यालले पनि पत्रकारहरूसँगको कुराकानीका क्रममा राज्यका अनुसन्धान गर्ने निकायहरू सक्रिय भइसकेका र कानुनबमोजिम अघि बढ्ने बताए । ‘प्रधानमन्त्रीज्यूले भनिसक्नुभो कि सुशासनको मामिला र भ्रष्टाचारविरुद्ध यो सरकारले राम्रैसँग खुट्टा टेक्छ । सुशासनको मामिलामा खुट्टा टेकेन भने यो सरकारको म्यान्डेटमाथि पनि प्रश्न आउँछ,’ उनले भने ।

 कसरी अघि बढ्छ अनुसन्धान ? 
जेन–जी आन्दोलनमा भएको आगजनी र तोडफोडका क्रममा आन्दोलनकारीले नेताहरूका घरबाट पैसा निकालेर जलाएको, उडाएको र चोरी गरेर लगेको फोटो र भिडियो सामाजिक सञ्जालमा आएपछि यसबारे विभागले चासो राखेको थियो । विभाग स्रोतका अनुसार नेताका घरमा ठुलो रकम भेटिएको र जलाएकोबारे कुनै भौतिक प्रमाण भेटिएको छैन ।

‘नेताको घरमा पैसा भएकोबारे अहिलेसम्म सञ्चारमाध्यममा आएको फोटो, भिडियोबाहेक कुनै भौतिक प्रमाण छैन,’ विभाग स्रोत भन्छ, ‘अवलोकनमा जाँदा खरानी मात्र भेटिएका छन् । यो खरानीलाई पैसा भनेर स्थापित गर्न कठिन छ ।’ यद्यपि, अनुसन्धानमा छिर्नका लागि फोटो, भिडियो उपयोगी हुन सक्ने विभागका कर्मचारी बताउँछन् ।

पहिले पैसा भेटिएको, जलाएको वा व्यक्तिहरूले लगेको विषयलाई तथ्यका रूपमा प्रमाणबाट स्थापित गरेको अवस्थामा मात्र बाँकी अनुसन्धान अघि बढाउन सकिने विभागका अधिकारीहरू बताउँछन् । यसपछिको अवस्थामा बैंक मौज्दात, सम्पत्ति र कारोबार हेरिने उनीहरूको भनाइ छ । ‘अहिले विभाग सूचना विश्लेषण र प्रमाण जुटाउनमा केन्द्रित छ,’ विभागका एक अधिकारीले भने । विभागका अधिकारीहरूको भनाइमा ठुला नेताहरूमाथि अनुसन्धान भने अघि बढाइएको छ ।
 

सुझावित समाचार